लहान नगरपालिकाको पहिलो निर्णय : डिजे साउण्ड बन्द गर्नेदेखि किरिया खर्च वितरणसम्म


लहान । लहान नगरपालिकाले पहिलो कार्यपालिकाबाट बैठकबाट ११ वटा निर्णयहरु गरेको छ । जसमा ध्वनी प्रदुषण रोक्न डिजे साउण्ड बन्द गर्नेदेखि मुसहर समुदायलाई मृत्युकर्म गर्न करिया खर्च वितरण सम्म छ ।

पहिलो बैठकबाट धन्यवाद ज्ञापन, किरिया खर्च, राहत, सिफारिस शुल्क, नगर बस भाडा, स्यानेटरी प्याड वितरण, विषयगत विज्ञ नियुक्ति, ध्वनी प्रदुषण, सडक मर्मत, ग्राभेल आपूर्ति र सूचना बोर्ड हटाउने गरी ११ वटा निर्णय गरेको हो ।

धार्मिक सांस्कृतिक कार्यहरुको नाममा ठुलो आवाजमा डिजे बजाएको स्थानीयवासीहरुबाट गुनासो बढ्न थालेपछि यस्तो निर्णय गरेको नगरप्रमुख महेश प्रसाद चौधरीले बताए ।

‘निर्णय भएसँगै कार्यान्वयन प्रक्रियामा बढाउँछौँ । पहिलो पटकलाई ११ सय जरिवाना तिराउने र पुनः सोही व्यक्तिले बजाए । सामग्री जफत गरिनेछ,’ उनले भने, ‘जफत गरिसकेपछि कानून अनुसार कारवाही प्रक्रियामा लग्नेछौँ ।’

मुसहर समुदायलाई किरिया खर्चको लागि ५ हजार सहयोग, कोरोना संक्रमणले पिडित भएका परिवारलाई १० हजारको दरले १५५४ जनालाई राहत वितरण गर्ने निर्णय भएको छ । जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता र नागरिकता सिफारिसमा लाग्ने दस्तुर निःशुल्क गर्ने प्रमुख चौधरीले जानकारी गराए ।

नगर बस सेवा निजीक्षेत्रलाई भाडामा लगाई सञ्चालन गर्ने निर्णय भएको छ । त्यसमा रुट र भाडा दर नगरपालिकाले निर्धारण गर्ने जनाएको छ । कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउन खरिद प्रक्रिया बढाउन निर्णय पनि भएको छ ।

शिक्षा, स्वास्थ्य, सरसफाईलगायत क्षेत्र हेर्नेगरी विषयगत विज्ञ नियुक्ति गर्ने प्रमुख चौधरीले बताए । वर्षाको कारण स्थानीयवासीलाई आउजाउ गर्न कठिनाई भोग्नु परिरहेको भोटियाटोल–सितापुर र लहान १६ स्थित गोविन्दपुर देखि भसुवा, भमरे, काभ्रे स्थानसम्मको सडक मर्मत तत्काल गर्ने निर्णय भएको छ ।

यसैगरी हिलो भएको ठाउँहरुमा तत्काल ग्राभेल गर्न ग्राभेल आपूर्ति गर्ने जनाएको छ । लहान नगरपालिका ७ का स्थितका सूचना बोर्ड हटाउने पनि नगरप्रमुख चौधरीले सुनाए ।

प्रकाशित : २०७९ जेष्ठ १७, मंगलवार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ