चिनी मिल सञ्चालन आएमा आफ्नो घर सरकारको नाममा पास गरिदिन्छु : सांसद श्रीवास्तव


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद बिमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरज ।

सांसद श्रीवास्तवले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे । उनले भने, ‘यसपालीको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौ यहाँ । त्यो स्वागतयोग्य छ । त्यसको लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु । साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहन्छु, यदी यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन । तर यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु ।’

सांसद श्रीवास्तवले थपे, ‘घर बेचेर भएपनि एक करोड, डेढ करोड जति पैसा हुन्छ, म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फण्डमा म आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आजको यो सभामा म प्रतिज्ञा गर्दछु ।’

आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको उनको भनाई थियो ।

प्रकाशित : २०७९ जेष्ठ १८, बुधबार १३:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ