भत्किएको जेलमा कैदीबन्दी, ज्यानको बाजी लगाएर दिनरात काट्न बाध्य


काठमाडौं । कारागारको जीर्ण भौतिक संरचनाका कारण मुलुकका एकतिहाइभन्दा बढी कैदीबन्दी जोखिममा रहेका छन् । कारागार व्यवस्थापन विभागको आफ्नै अध्ययन प्रतिवेदनअनुसार मुलुकभर करिब २५ हजार कैदीबन्दी रहेकामा नौ हजारभन्दा बढी कैन्दीबन्दी जीर्ण संरचनाभित्र छन् ।

कसुर ठहर भएका र मुद्दाको किनारा नलागेसम्म पुर्पक्षमा पठाइएकालाई कैदीबन्दीका रूपमा कारागारमा राख्ने गरिन्छ । विभिन्न जिल्लामा ७४ कारागार रहेकामा आधाभन्दा बढीका भवन जुनसुकै बेला भत्किने अवस्थामा रहेको प्रतिवेदन विभागकै अध्ययनले देखाएको छ ।

गृह मन्त्रालयका अनुसार नेपालका कारागारहरूको क्षमता १६ हजार ५ सय ११ जनालाई मात्रै राख्ने हो तर अधिकांश कारागारमा कोचाकोच कैदीबन्दी राखिएको छ । कतिपय कारागारमा क्षमताको तेब्बर–चौबर संख्यामा कैदीबन्दी छन्, जसका कारण उनीहरूलाई सुत्न, बस्न र शौच गर्नसमेत समस्या छ ।

सप्तरी कारागारका जेलर किशोरकुमार रामले कैदीबन्दी बस्ने भवन जुनसुकै बेला भत्किने अवस्थामा रहेको सुनाए । ‘कारागारको भवन र पर्खाल चिराचिरा परेको छ । भुइँमा प्लास्टर छैन, भुइँ ढलान नहुँदा कैदी सुरुङ खनेर भाग्लान् भन्ने डर पनि छ,’ उनले भने, ‘पानी पर्दा छाना चुहिन्छ । पानी परेका बेला कैदीबन्दी जाग्राम बन्छन् ।’

ठाउँ नपुगेर कैदीबन्दीलाई भुइँमा ओछ्यान लगाएर सुताउनुपर्ने बाध्यता रहेको पनि जेलर रामले बताए । १ सय ६५ जना अटाउने क्षमता रहेको उक्त कारागारमा ३ सय ७० कैदीबन्दी राखिएको छ ।

महोत्तरीको जलेश्वर कारागारको अवस्था पनि उस्तै छ । त्यहाँ पर्याप्त शौचालय नहुँदा शौच गर्न कैदीबन्दीले पालो कुर्नुपर्छ । ‘भवन भत्कने डरले कैदीबन्दी राति ढुक्कले निदाउन पाउँदैनन्,’ निमित्त जेलर रविनचन्द्र ठाकुरले भने, ‘पुरुष बन्दीगृहको तुलनामा महिला ब्लकको अवस्था झनै नाजुक छ । पानी पर्नासाथ छाना चुहिन्छ ।’

२ सय क्षमताको महोत्तरी कारागारमा ६ सय कैदीबन्दी राखिएको छ । विभागले भवन निर्माणका लागि लागत अनुमान मागेपछि विवरण पेस गरेको तर त्यसपछि कुनै प्रतिक्रिया नआएको उनले बताए । – कान्तिपुर

प्रकाशित : २०७९ जेष्ठ २०, शुक्रबार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ