संसदमा महँगीको चर्काचर्की, सरकार बाँच्नै मुस्किल भयो


काठमाडौं । अचाक्ली मूल्यवृद्धि भएसँगै सर्वसाधारणको जनजीविका नै अस्तव्यस्त बन्दैछ । पेट्रोलदेखि खानेतेलसम्म महंगीको विषयमा सरकार सबैलाई मोटरमा हाल्ने इन्धन महंगीएकोमा चिन्ता छ, तर भान्सामा खानेतेलको मूल्य बढ्दा छट्पटाएका आमाहरुको पीडा कसैले सुनेको छैन ।

पेट्रोलको मूल्य निरन्तर उकालो लागिरहेपनि शुक्रबार सरकारले १० रुपैयाँ करकट्टी गरेपछि १७० मा झरेको छ । यो मूल्य कतिबेलाफ्याट्ट दुईसयमा पुग्छकुनै ठेगान छैन । तर यता आकासिएको खानेतेलको मूल्य प्रतिलिटर ४४० का दरले कारोबार भइरहेको छ ।

जबकि गतबर्षको जेठताका बढीमा२५० मा खानेतेलको कारोबार भइरहेको थियो ।कुरा तेलको मात्रै होइन, बजारका हरेक बस्तुको मूल्य छोइ नसक्नु भएको छ । सरकारमा भएकाहरुलाई के चासो, उनीहरुले किन्नु पर्दैन, पकाउनु पर्दैन ।

खाना पकाइदिने अरु, टेबुलमा टक्र्याईदिने अरु । अनी भान्सा कति महंगीयो सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सोच्नसम्म भ्याएका छैनन् । धन्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि चौतर्फि हल्ला हुन्छ र सरकारको कानसम्म पुग्छ ।

सरकारको लक्ष्य ६ प्रतिशतमाथि मूल्यवृद्धि हुनै नदिने थियो । तर ७ प्रतिशतमाथि मृल्यवृद्धि पुगिसक्यो ।यो आर्थिक बर्षको आखिरिसम्म झण्डै १० प्रतिशत पुग्ने अर्थविज्ञहरुको प्रक्षेपण छ ।

प्रक्षेपण अनुसार नै मूल्यवृद्धि भए जनता बाँच्नै मूस्किल पर्नेछ । आजभोलि हरेक दिन संसदमा मूल्यवृद्धिबारे कुरा उठिरहेको छ । तर सरकारले हस्तक्षेपकारी भूमिका खेल्नुको साटो निजी क्षेत्रलाई संलग्न गराउन कार्यदल गठन गरेको छ ।

संसदका दुवै सदनमा मृल्यवृद्धिलाई लिएर सांसदहरुले चर्काे विरोध गरेका छन् । तर यस्तो बेला राहत लगायतका विषयमा सरकारले कुनै तयारी गरेको छैन ।प्रमुख प्रतिपक्षले यसको छानबिनका लागि समिति बनाउन सरकारसँग माग गरेको छ ।

मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको तदारुकता देखिएको छैन । देखाउनका लागि यदाकदा नियमन र अनुगमन गरिए पनि त्यो प्रभावकारी हुन सक्दैन । चुनावी वर्ष भएकाले अझै मूल्यवृद्धि थप अकासिने पक्कापक्की छ । यसविषयलाई लिएर राष्ट्रिय सभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिसमेत छलफल भएको छ ।

अचाक्ली मूल्यवृद्धिका पछाडि तीन कारणहरु छन् । पहिलो, माग अनुसार हाम्रो आफ्नै उत्पादननहुनु । दोस्रो, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि हुनु । जसले समग्र बस्तुको मूल्य बढाइरहेको छ ।

तेस्रो कारण भने, केही महिनायता आयात घटाउन सरकारलेलिएको नीति हो । आयात घट्दा आपूर्ति घट्ने भएकाले ती वस्तुको मूल्य बढिरहेको छ । सरकारले चाहेको खण्डमा तत्काल मूल्यवृद्धिमा पहल लिन सकिन्छ ।

तर मूल्यवृद्धिलाई निश्चित सीमाभित्रै राख्ने सरकारी पहल भने प्रभावकारी देखिएको छैन । पछिल्ला महिनाहरूमा उच्च दरले भइरहेको मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नगरिए नागरिकको जनजीविकादेखि मुलुकको अर्थतन्त्रसम्मलाई ठूलै धक्का पुग्ने निश्चित छ  ।

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ