जनमत पार्टी प्रदेश र प्रतिनिधिसभा चुनावमा अन्य दलसंग गठबन्धन गर्न तयार


जनकपुरधाम । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा तालमेलका लागि जनमत पार्टी खुल्ला रहेको जनाएको छ ।

आउँदो निर्वाचनका लागि दलहरुले गठबन्धन बनाउँदै गर्दा जनमत पार्टी पनि चुनावी तालमेल गर्ने पक्षमा रहेको पार्टीका नेता बीपी साहले बताएका छन् ।

‘हालै सम्पन्न स्थानीय निर्वाचनमा हामी विरुद्ध अधिकांश दलहरुले मोर्चा बन्दी गरेका थिए । हामी एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन सकेन,’ नेता साहले भने, ‘आगामी निर्वाचनमा हामी पनि तालमेल गरेर निर्वाचनमा जाने पक्षमा छौं ।’

कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरु खुल्ला रहेको उनले सुनाए । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकृण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ ।’

नेता साहले भने ‘अहिले पाँच दलीय गठबन्धन छ । अर्को गठबन्धन बनाउने प्रयास पनि भइरहेको छ । यस्तो अवस्थामा हामी एक्लै बस्नुको औचित्य छैन ।’

मधेश केन्द्रीत दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भने,‘लोसपा वा जसपाको जनाधार पनि मधेशमै देखियो। हाम्रो जनाधार पनि यही क्षेत्रमा छ। उहाँहरुसँग तालमेल भए झन् राम्रो । तर, उहाँहरु कतिपय कुरामा क्लियर हुनु पर्छ ।’

आगामी निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवार चयनका विषयमा छलफल पनि अगाडि बढाइ सकेको छ । नेता साहका अनुसार आगामी निर्वाचनमा पार्टी बाहिर वा भित्रका जोसुकलाई पनि टिकट दिन सकिने छ ।

‘जनविश्वास भएका, छवी राम्रो भएका व्यक्तिलाई जनमत पार्टीले टिकट दिनेछ ।’ नेता साहले भने, ‘स्थानीय निकायको निर्वाचन जस्तै आउँदो निर्वाचनमा पनि आर्थिक मापदण्ड तोकिनेछ । निर्वाचन आयोगले तोकेको खर्च उम्मेदवार स्वयम्ले व्यवस्था गरी प्रचारप्रसार समिति समक्ष पेस गर्नु पर्नेछ ।’

प्रकाशित : २०७९ जेष्ठ २१, शनिबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ