नेकपा एसले सबै मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री टुंग्याउने जिम्मा अध्यक्षलाई


काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ ।

एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरूको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

६ महिनाका लागि भनेर पठाएका उनीहरूलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।

बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरूलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए ।

‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छौँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

एकीकृत समाजवादीबाट मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ