नरेन्द्र यादवले छ दिनमै सगरमाथा चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरे


काठमाडौं । भारतका आरोही नरेन्द्रसिंह यादवले छ दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।

कोसली उप-डिभिजन नेहरुगढ गाउँपालिकाका नरेन्द्रसिंह यादवले मे २७ का दिन बिहान ५ बजेर २ मिनेटमा २ जना सहयोगी गाइडहरु पेम्वा रिता शेर्पा र चतुरमान राईका साथमा सगरमाथाको सफल आरोहण गरेको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

उनले छ दिनमै सगरमाथाको सफल आरोहण गर्ने यादव पहिलो रहेको बताए । नरेन्द्र यादवले आफ्नो सगरमाथा आरोहणको नाम ‘आजादीका अमृत महोत्सव फास्टेस्ट एभरेस्ट एक्सपिडिसन २०२२’ राखेका थिए ।

उनले सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय गान गाएर स्वतन्त्रताको अमृत उत्सव मनाएको र यो अभियान रेजांगला युद्धमा सहिद भएका सैनिकहरुप्रति समर्पित गरेका बताए ।

नरेन्द्र यादवको विश्वका सातवटै महादेशका अग्ला हिमालहरुको आरोहण गरी विश्व कीर्तिमानमा नाम लेखाउने सपना छ। उनले हालसम्म ५ महादेशका अग्लो चुचुरोहरुको सफल आरोहण गरिसकेका छन् ।

नरेन्द्र यादवले अहिलेसम्ममा सगरमाथा, किलिमन्जारो दुई पटक, एल्ब्रुस इन ट्राभल्स, कोजास्को र अष्ट्रेलियाका १० अग्लो चुचुरो र दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुवा आरोहण गरिसकेका छन् । पर्वतारोहणको क्षेत्रमा उनले अहिलेसम्म १८ वटा विश्व कीर्तिमान कायम गरिसकेको जनाइएको छ ।

अब अमेरिकाको सर्वोच्च शिखर डेनाली, अन्टार्कटिकाको सबैभन्दा अग्लो हिमाल भिन्सनको आरोहण गने योजनामा रहेका यादव राष्ट्रिय साहसिक पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् । गत वर्ष नरेन्द्रलाई लस एन्जलस डेभलपमेन्ट इन्स्टिच्युट, लस एन्जलस (अमेरिका) द्वारा डाक्टर अफ मोटिभेसनबाट सम्मानित गरिएको थियो ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार ०८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ