मन्त्री हेरफेरको एजेन्डाले सत्तारूढ दलभित्र तरंग : फुटको संघारमा जसपा


काठमाडौं । एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय लिएपछि सत्तागठबन्धनका अन्य दलहरूभित्र पनि मन्त्री हेरफेरको दबाब बढेको छ । जनता समाजवादी पार्टी त फुटकै नजिक  पुगेको छ । यद्यपि, नेताहरू भने त्यसलाई अस्वीकार गर्छन् ।

जसपाका एक नेताका अनुसार पार्टीबाट मन्त्रीहरू हेरफेर हुँदा मात्र पार्टी जोगिने सम्भावना छ । तर, अध्यक्ष उपेन्द्र यादव तत्काल पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाइहाल्ने पक्षमा छैनन् । उनी सकभर आगामी निर्वाचनसम्म अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने पक्षमा छन् ।

जसपाका नेता तथा सांसद प्रमोद साह पनि पार्टी एक भएर चुनावसम्म जाने दाबी गरे । उनले भने, ‘हामी गठबन्धनमा रहेर चुनावसम्म जान्छौँ । अरू धेरै कुरा सोच्नुपरेन ।’ अध्यक्ष यादवले ६ महिनामा मन्त्री हेरफेर गर्ने बताए पनि अहिले वास्ता नगरेको असन्तुष्ट पक्षहरूको भनाइ छ ।

आठ महिनाअघि जसपाले मन्त्रिपरिषद्मा पठाउन नाम टुंगो लगाउँदै गर्दा अध्यक्ष यादवले ६ महिनापछि नयाँले अवसर पाउने बताएको जसपाका केही सांसदहरूको भनाइ छ । अहिले उनी पेलेरै अघि बढ्न खोजेपछि पार्टी संकटमा परेको ती नेताको भनाइ छ ।

जसपाभित्र सांसदहरूले डेढ–दुई महिनाअघिदेखि नै मन्त्री फेर्न पार्टी नेतृत्वलाई सुझाव दिँदै आएका थिए । तर, पार्टीभित्र सुनुवाइ भएको थिएन । पछिल्लो समय एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपश्चात् जसपामा पनि दबाब बढेको हो ।

ती नेताले नयाँ पत्रिकासँग भने, ‘अब केही दिनमा दृश्यहरू अझै स्पष्ट होलान् । अहिलेसम्मको स्थिति असहज छ । विगत हेर्दा हाम्रा पार्टी टुटफुट हुनुलाई सानो–सानो कुरा भए पुग्छ । त्यसकारण, चुनावसम्म सग्लै जान्छ भनेर दाबी गर्न सकिँदैन ।’ पार्टी कसरी जोगिन्छ त ? ती नेताले एक लाइनमा जवाफ दिए, ‘उपेन्द्र यादवजीले नयाँलाई पालो दिनुपर्छ ।’

पार्टी फुटाउन मन्त्रीका आकांक्षीहरू मात्र लागेका छैनन्, व्यक्तिगत अन्तद्र्वन्द्वका कारण पनि टकराव बढेको ती नेताको भनाइ छ । ‘व्यक्तिगत रिसइबी भएकाहरू पनि यही वेला पार्टी फुटाइहालौँ भन्ने पक्षमा छन् । किनकि, माहोल यही वेला तातिएको छ । त्यसमा व्यक्तिगत स्वार्थ जोडिने भइहाल्यो । पार्टी फुटाउन ठूलो चलखेल छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि लागेका छन्,’ उनले भने ।

जसपाभित्र गुटका बैठक पनि बस्न थालिसकेका छन् । गुटमा सहभागीहरूको नाम नखुलाउने सर्तमा अर्का एक नेताले भने, ‘पार्टीभित्र अवसर खोजिनु स्वाभाविक हो । त्यसक्रममा जो–जोसँग स्वार्थ मिल्छ, उनीहरूको बैठक बस्ने हो, विकल्प खोज्ने हो ।’

अहिले जसपामा १९ जना सांसद छन् । नयाँ दल दर्ता गर्न कम्तीमा आठजना सांसद पार्टी फुटाउन तयार हुनुपर्छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य पुर्‍याउनुपर्छ । ऐनको दफा ३३ ले भनेको छ, ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरूसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’

जसपामा दल फुटाउन आठजना सांसदको जरुरी भए पनि असन्तुष्ट पक्षसँग पाँचजना सांसद मात्र रहेको उपेन्द्र यादव पक्षीय एक नेताको दाबी छ । तर, ४० प्रतिशत सांसद पुर्‍याउन जोडबल भइरहेको उनको भनाइ छ । त्यसका लागि सांसदहरूसँग ‘लबिङ’ पनि भइरहेको छ । ‘पार्टी फुट्यो भने को बस्लान्, को जालान् भनेर अनुमान लगाउन गाह्रो छ । सानो–सानो अवसर पाउने बित्तिकै छाडिहाल्छन्,’ उनले भने ।

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच दूरी बढेको चर्चा भइरहँदा पार्टीफुटको पनि चर्चा चुलिएको हो । नयाँ पार्टी बन्दा भट्टराईकै नेतृत्वमा बन्न सक्ने पार्टीभित्र धेरैको अनुमान छ । ‘उहाँहरूबीच दूरी बढेको सत्य हो । यसकारण पनि जोखिम छ,’ ती नेताले भने ।

मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा उभिएका जसपाका सांसदहरूले अध्यक्ष यादवलाई भेटेरै मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारिणी परिषद् र संसदीय दलमा भएको सर्वसम्मत निर्णयअनुसार मन्त्री हेरफेरका लागि दबाब दिएका छन् । ‘अहिले ६ महिना होइन, आठ महिना पुगेको छ, त्यसैले मन्त्री हेरफेर हुनुपर्छ भनेर हामीले अध्यक्ष र शीर्ष नेताहरूलाई भेटेरै पनि दबाब दिएका छौँ,’ जसपाका एक सांसदले भने ।

२२ जेठमा सांसदहरूसँगको छलफलमा अध्यक्ष यादवले चाँडै केन्द्रीय कार्यकारिणी परिषद् र संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेरको निर्णय गर्ने आश्वासन दिएका थिए । तर, यादवले दुवै बैठक बोलाएका छैनन् । – नयाँ पत्रिका

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ