जन्ममिति बढाएर वृद्धभत्ता बुझ्दै आएका १४ जनालाई कारबाही, यसरी खुल्यो पोल


जनकपुरधाम । नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।

आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरूलाई कारबाही र जरिबाना हुने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालय बैतडीमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो ।

साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्धभत्ता लिने गरेकोसमेत खुल्न आएको छ ।

बैतडीको डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिकाका १ को नागरिकता केरमेट गरेको पाइएको हो ।  कुनैको प्रतिलिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट भएको पाइएको र केहीको परिचयपत्र बनाउँदा केरमेट गरेको पाइएपछि थप अनुसन्धान गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

‘कार्यालयमा आएको उजुरीका आधारमा पनि अनुसन्धान थालिएको हो’, उनले भने, ‘केरमेट गरेको पाइएपछि किन सच्याइएका रहेछन् भनेर हेर्दा जन्ममिति बढाइ सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको हो ।’

जन्ममिति सच्याएर केहीले विसं २०५२ देखि तथा केहीले २०७६ सालदेखि भत्ता लिइरहेका खुल्न आएको सूचना अधिकारी भारतीले जानकारी दिए । उनले भने, ‘नागरिकतामा मिति सच्याएर कम्तीमा तीन वर्ष र बढीमा २७ वर्ष पहिलादेखि वृद्धभत्ता बुझेको पाइएको छ ।’

यसरी नागरिकतामा जन्ममिति बढाएर भत्ता लिएकालाई अहिलेसम्म लिएको रकमको दोब्बर असुल उपर गरिने भारतीले बताए । यस्तै नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत थप कारबाही हुनेछ ।

प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार २०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ