वीरगञ्जका मेयर सिंहको एक्सन- पूर्व मेयरले राखेका सबै ज्यालादारी कर्मचारी हटाइयो


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसअघिका मेयर विजयकुमार सरावगीले दैनिक ज्यालादारीमा नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई हटाएका छन् ।

पूर्व मेयर सरावगीले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गत वैशाखदेखि आफ्नो भोटबैंक बढाउने उद्देश्यले दैनिक ज्यालादारीमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी र केन्द्रहरुसमेतमा आफ्ना कार्यकर्तालाई दिएको नियुक्ति नवनिर्वाचित मेयर सिंहले खारेज गरेका हुन् ।

सोमबार वीरगञ्ज महानगरपालिकाले एउटा सूचना जारी गर्दै २०७८ वैशाखदेखि वीरगञ्ज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी/केन्द्रमा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका सबै कर्माचारिलाई असार १ गतेदेखि अर्को सूचना नआएसम्मका लागि हटाईएको जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको नगरपालिकाको कार्यालय महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ बैशाख देखि नियुक्त भइ दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मका लागि आगामी असार १ गतेदेखि जागिरबाट हटाइएका उल्लेख छ ।

दैनिक ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीहरुलाई हटाउने निर्णय गरेसँगै स्थानीयहरुले मेयर सिंहको प्रशंसा गरिरहेका छन् । दैनिक ज्यालादारीमा कर्मचारीको नाममा पूर्व मेयर सरावगीले कार्यकर्तालाई नियुक्ति दिएर महानगरका करदाताको पैसा सकाउने काम गरेको भन्दै उनीहरुलाई हटाउने मेयर सिंहको निर्णय सराहनीय भएको स्थानीय युवा नेता शशिकान्त सर्राफले बताए ।

प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार २२:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ