मेयर बालेन्द्र साहले हेटौंडाको अभिमुखीकरण बहिष्कार गरे, यस्तो छ लफडा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हेटौंडामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमप्रति असन्तुष्टि प्रकट गर्दै काठमाडौं फर्किएका छन् ।

बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण’ नाममा आयोजना गरेको कार्यक्रम आजसम्म चल्ने भए पनि काठमाडौंका मेयर र उपमेयर हिजै फर्केका हुन् ।

काठमाडौं फर्केलगत्तै मेयर साहले सामाजिक सञ्जालमै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । व्यंग्यात्मक स्टाटस लेख्दै उनले भनेका थिए– बाग्मती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो ।

यस विषयमा आज उनले थप स्पष्टीकरण दिएका छन् । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने कार्यक्रममा बस्नुको औचित्य नदेखेको उनले बताएका छन् । मेयर साहले दिएको प्रस्टीकरण यस्तो छः

मलाई व्यक्तिगत रुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडाैंसँग र काठमाडाैंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडाैंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो । काठमाडाैं केवल राजधानीमात्रै होइन, अझ बाग्मती प्रदेशको लागि त एउटा पालिकामात्रै हो । तर, काठमाडाैं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो ।

गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ । गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु अथवा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्नेछु । धन्यवाद ।

आखिर प्रदेशको अभिमुखीकरणमा काठमाडौं महानगरपालिकालाई कसले र किन गाली गर्‍याे त ? स्रोतका अनुसार उक्त कार्यक्रममा सबैभन्दा बढी बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए ।

उक्त कार्यक्रममा अर्थमन्त्री जमकट्टेलले काठमाडौंवासीले गरेको फोहोरको जिम्मा नुवाकोट र धादिङले लिन नसक्ने बताएका थिए । उनले काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नहुनेसमेत तर्क गरेका थिए ।

फोहोर व्यवस्थापनको सन्दर्भमा उनीहरुले महानगरको आलोचना गर्दा मेयर बालेन्द्रलाई बिझाएको हो । उनले कसैलाई व्यक्तिगत रुपमा आरोपित भने गरेका छैनन् ।

काठमाडौंकी उपमेयर सुनिता डंगोल पनि मेयरसँगै अभिमुखीकरणमा सहभागी थिइन् । उनी पनि हिजै फर्किएकी छन् । कार्यक्रमका विषयमा उनले कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १५:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ