Breaking- चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी


काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् ।

आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ । टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् ।

आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए । ‘उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका एक कर्मचारीले भने ।

उनले काठमाडौं ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो ।

अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

प्रकाशित : २०७९ असार २, बिहीबार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ