मधेसका मुख्यमन्त्री राउतले भने- निजगढबाट अन्तराष्ट्रिय विमानस्थल सार्न मिल्दैन


जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अन्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।

निजगढमा विमान स्थल बन्नुपर्ने माँग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसंग साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । उनले मधेस प्रदेशको विकासका लागि अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताए ।

मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइ नसकेकोले नआतिन निजगढवासीलाई आग्रह गरे । उनले पूर्णपाठमा निजगढ विमानस्थलका लागि सकारात्मक सन्देश आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौं । तर विमानस्थलनको नाउँमा अनावश्यक रुख कटानी गर्न दिदैनौं । विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन्, नेपालका लागि सुहाउदो विमानस्थल बनाउन प्रदेश सरकार हरसम्भव प्रतिबद्ध छ ।’

विमानस्थलको नाउँमा जंगल नै सिध्याउने चलखेल हुँदै आएको भन्दै मुख्यमन्त्री राउतले निजगढबासीलाई सचेत गराए । उनले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागि दवाव दिन आग्रह गरे ।

निजगढबासीले केही दिनदेखि जारी राखेको चक्काजाम सहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चको पूर्णपाठ नआएसम्म आन्दोलन स्थगित गर्नुस् । पूर्णपाठ हाम्रै पक्षमा आउछ भन्नेमा विश्वस्त छु । विपक्षमा आए फेरी आन्दोलन गरौंला ।’

मुख्यमन्त्रीको आग्रहपछि आन्दोलनरत सरोकार समिति चक्काजाम कार्यक्रम आजैबाट स्थगित गरेको बताइएको छ । उनीहरुले रिले अनसन भने जारी राखेका छन् ।

प्रकाशित : २०७९ असार २, बिहीबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ