वेद एप्सका मालिक सुजित : ८ कक्षा फेल, तर यसरी कमाए ८० करोड रुपैयाँ


काठमाडौं । सुजित पाठक (२९) कक्षा ८ सम्म फेल भइराख्ने बिद्यार्थी थिए । स्कुलले ३/३ महिनामा अभिभावक बोलाएर रिजल्ट थम्याउँथ्यो । सुजित फेल हुन्थे अभिभावकको गाली खान्थे ।

छोरा के कारणले फेल भएको हो ? सुधार केमा गर्नु पर्दथ्यो ? भन्ने कुरा स्कुल र अभिभावकबीच खासै कुराकानी नै हुँदैन थियो । स्कुल, अभिभावक र शिक्षकबीचको दूरी निकै लामो थियो ।

यो सुजितको मात्रै नभई सबैकाे व्यथा थियो । स्कुल र अविभावकको भेट भनेकै रिजल्ट आउने बेलामा हुन्थ्यो । शिक्षा जस्तो महत्वपूर्ण विषयमा रहेको यही ग्याप चिर्न आइटीमा ब्याचलर्स पढ्दै गर्दा २२ वर्षको उमेरमा सुजितले आफ्ना दुई जना साथीहरु निर्देश झा र सन्जन पियासँग मिलेर वेद नामक एप बनाए ।

शिक्षक, स्कुल, अभिभावकबीचमा कुराकानी र सञ्चार गर्ने यो एप अहिले नेपालमा ८ सय, जापान र ब्रुनाईको एक–एक वटा स्कुलमा प्रयोगमा छ । यसबाहेक भारत र बंगलादेशमा पाइलटिङ परियोजना चलिरहेको छ ।

सन् २०१६ मा एउटा टेवल र ३ वटा कुर्सीसहित जम्मा एक लाख ५० हजार रुपैयाँ लगानीबाट सुरु भएको तीन युवाको आइटी परियोजना अहिले ८० करोड मूल्यको ब्राण्ड बनेको छ ।

तीन सहयात्रीबाट शुरु भएको कम्पनीमा अहिले ७० जना कामदार थपिएका छन् । हातको चिर्कटोमा विद्यार्थीको गुनासा र नतिजा थमाउने विद्यालय र ३–३ महिनामा विद्यालय पुग्ने अभिभावक बीचको दुरीलाई मोबाइल एपले केही सेकेन्डमा ल्याइदिएको छ ।

यही प्रभावशाली सूचना प्रविधिको स्टार्टअपकै कारण सुजित यो वर्ष विश्वविख्यात फोर्बस म्यागेजिनको एशियाकै प्रभावशाली ३० वर्षमुनिको युवा सूचीमा दरिए । स्कुलमा फेल भइरहने त्यही २९ वर्षे केटोको लोभलाग्दो कथा यो साताको ‘मेरो लगानी स्टार्टअप’ सिरिजमा प्रस्तुत गर्दैछौं ।

के हो ‘वेद एप’ ?
वेद एप इन्ग्रेल्स प्रा.लिले २०१६मा विकास गरेको विद्यालय व्यवस्थापनको सम्पुर्ण कार्य गर्ने सफ्टवयेयर हो । वेद एप्सलाई विद्यालय, शिक्षक र अभिभावकबीचको पुल पनि भन्न सकिन्छ । वेदले विद्यालयकाे आवश्यक डिजिटल प्रविधि, तालिम र परामर्श दिन्छ ।

विद्यार्थीहरुको अनलाइन कक्षा संचालन, गृहकार्य, हाजिरदेखि शुल्क व्यवस्थापनसम्म यो एपमार्फत गर्न सकिन्छ । वेद एप्स दुबै आइओएस तथा एन्ड्रोइडमा उपलब्ध छ । विशेषगरी वेदले दैनिक रुपमा विद्यालय र विद्यार्थीका गतिविधि कैद गर्दछ ।

स्कुलको सूचना एपमा हाल्ने, एपमा आउने नोटिफिकेसनले अभिभावकले रेस्पोन्स गर्न सक्छन् । विद्यार्थी स्कुल ढिला आएकोदेखि खाजा खाए नखाएको, बिरामी परे नपरेको सबै सूचना यसमार्फत दिन तथा लिन सकिन्छ ।

अहिले त स्कुलको सम्पूर्ण प्याकेज वेदमा छ – पाठक सुनाउँछन् । स्कुलको बस ट्रयाकिङदेखि, टिफिन व्यवस्थापन, स्कुलको लेखाप्रणाली, शिक्षकको तलब सबै यही प्रणालीबाट हुने पाठक बताउँछन् ।

म्यानेजिङ डाइरेक्टर सुजितका अनुसार साक्षर अभिभावककालागि यो एप्स सहज छ । उनी भन्छन्, ‘फेसबुक चलाए जस्तै सजिलो छ यो प्रणाली । अभिवावकहरुले धेरै कुरा बुझ्नुभएको छ । एपमा नेपाली भाषा पनि छ । उहाँहरुलाई सहज हुनेगरी एप बनाएका हौँ ।’

पहिलो ग्राहक सेन्ट जेभियर्स
हरेक कुराको पहिलो सुरुवात गर्न कठिन हुन्छ भनेझै सुजित, निर्देश र सज्जनलाई वेद एप्सका लागि पहिलोपटक ग्राहक खोज्न निकै गार्हो भयो । युवाहरुले सुरु गरेको नयाँ काममा विश्वास गर्ने कम नै हुन्छन् ।

‘खासगरी पहिलो काम गर्न भनेर पहिलोपटक पुग्दा हामीलाई विश्वास गर्नै कठिन हुने अवस्था थियो,’ सुजित सम्झन्छन् । तर यी तीन युवामाथि विश्वास गर्ने पहिलो विद्यालय बन्यो सेन्ट जेभियर्स स्कुल ।

सेन्ट जेभियर्ससँग स्विकृति पाउन पनि यी तीनलाई हम्मे हम्मे पर्यो । भेट्न समय नपाइरहेका बेला सेन्ट जेभियर्सका फादरले उनीहरुलाई अचानक ३० मिनेटभित्र आउने अल्टिमेट दिएको दिन सुजित सम्झिन्छन् । फादरले सो समयभित्र आए एप लिने अन्यथा नलिने भनि उनीहरुलाई धम्काएका रहेछन् । तर समय नकट्दै हतार हतार तीन साथीहरु सेन्ट जेभियर्स पुगे र अन्ततः एप लिन पनि मनाए ।

‘वेद एप सुरु गर्दा सेन्ट जेभियर्स हाम्रो सेवाग्राही हुने भयो । हामी पहिलो दिन आफ्नो काम बुझाउन जाँदा प्राेटोटाईप एप मात्र थियो । उहाँहरु विश्वस्त नै हुनुहुन्थेन । आइटी पढेका योङ मानिसहरु विदेश जान्छौं होला भन्नुहुन्थ्यो । तर हामीले कन्भिन्स गराएर सेन्ट जेभियर्सको काम ल्यायौँ ।’

तीनजनाले सुरु गरेको सानो कम्पनीमाथि धेरैले विश्वास गर्दैनथे तर सुरुवातमै शिक्षा क्षेत्रमा परिचित नाम सेन्ट जेभियर्सले उनीहरुलाई मौका दियो । त्यसपछि भने यी तीनले फर्केर हेर्नु परेन ।

ग्राहककै मार्केटिङले देशभर फैलिदैं
सेन्ट जेभियर्सको विश्वास जितेपछि वेद एप्सका लागि ३ दिनमा नै अर्को ४ वटा विद्यालयबाट प्रस्ताव आयो । त्यसका लागि १५ दिन उनीहरुले रातभर काम गरे । यसरी एकपछि अर्को स्कुल गर्दै, विद्यालय र ग्राहककै भरमा वेद एप्स फैलँदै गयो ।

“अहिले भएका ८ सय स्कुलमध्ये हामी मुश्किलले २ देखि ३ सय स्कुलमा डोर टू डोर पुग्यौँ होला नत्र त सबै ग्राहकहरुले नै गरेको प्रचारबाट हाम्रो सेवाग्राही थपिनुभएको हो,” सुजितले बताए ।

सुरुवात भएको पहिलो वर्ष १५ वटा स्कुलमा वेद एप्स संचालन गरिएको थियो । तर कम्पनी विस्तार हुने क्रममा ८ वर्षमा ८ सय स्कुल वेदसँग आबद्ध रहेका छन् ।

जापानदेखि ब्रुनाईसम्म, बंगलादेश र भारतमा पनि
सुजितका अनुसार वेद एप्स नेपालमा मात्र नभएर विदेशसम्म पुगिसकेको छ । ब्रुनाई र जापानको एक एक वटा स्कुलमा वेद लन्च गरिएको छ ।

यसैगरी, बंगलादेशमा पनि पाइलटीङ भइरहेको सुजितले मेरोलगानीलाई बताए । विस्तारकै क्रममा सीइओ निर्देश झा यतिबेला भारतमा वेद एप्स चिनाउने जमर्कोमा लागेका छन् ।

प्रकाशित : २०७९ असार ४, शनिबार ०७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ