मिटरब्याजी रामदेव साहको सम्पत्ति छानविन गर्न अनुसन्धान विभागमा उजुरी


सप्तरी । मिटरब्याजी रामदेव साह तेली र उनका परिवारको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी पठाइएको छ ।

मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित सर्घष समिति, सप्तरीले शुक्रबार विभागमा उजुरी पठाएको हो । समितिका संयोजक छेदीलाल पासवानले मिटरब्याजी साह र उनका परिवारिक सदस्यहरुको सम्पत्ति छानविनको मागसहित जिल्ला हुलाक कार्यालयमार्फत उजुरी पठाएका हुन् ।

उजुरीमा मिटरब्याजी साह र उनका परिवारले विगत ४० वर्षदेखि अवैधरुपमा आर्थिक कारोबार र लेनदेन गर्दै आएको तथा यसबाट प्रचुर मात्रामा सम्पत्ति आर्जन गरेको उल्लेख गरिएको छ ।

गाउँघरका विपन्न व्यक्तिलाई १ सयको प्रति दिन ३ देखि ५ रुपैयाँको चर्काे ब्याज (खेपी)मा लगानी गर्ने, जग्गा पास तथा सुनचाँदी राखेर मात्र ऋण दिने र सोको रकम चुक्ता गरिसके पछि पनि बन्धकी राखेको जग्गा र गरगहना फिर्ता दिन आलटाल गर्ने र अधिकांशको बन्धकी राखिएको गरगहना र जग्गा नै हडपी अकुत सम्पत्ति जोडेको भन्दै साह परिवारको सम्पत्तिको छानविन गर्न उजुरीमा माग गरिएको छ ।

साह परिवारले सप्तरीमा मात्र नभई सुनसरी, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा समेत मिटरब्याजको अबैध कारोबार संचालन गरी सयौं परिवारलाई उठीवास गराएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ को खण्ड क, ख, ग तथा उपदफा २ र ३ को व्यवस्थाविपरीत कसुरमा आवश्यक छानविन र कारवाही गर्न माग गरिएको छ ।

जिल्लाको खडक नगरपालिका–७ निवासी साह र उनका परिवारविरुद्ध यसअघि ९ जना पीडितहरुले चौबरको कीर्ते कागजात बनाई जग्गा हडपेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका थिए ।

सो जाहेरीका आधारमा प्रहरीले रामदेवका छोरा नन्दकिशोर र छोरी अनुराधालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपनि उनी अझै पक्राउ परेका छैनन् । – नयाँ पत्रिका

प्रकाशित : २०७९ असार ४, शनिबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ