Breaking- गृहले रोक्यो दुबईका राजपरिवार सदस्यको सबै कार्यक्रम, यस्तो छ कारण


झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम गृह मन्त्रालयले रोकेको छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो ।

माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको पुष्टि गरेका छन् ।

‘विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारको स्वीकृति लिनुपर्ने हो, सुरक्षा संवेदनशीलताको हिसाबले पनि यो आवश्यक कुरा हो,’ रिजालले भने, ‘तर अनुमति नलिएकाले पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको छ ।’

परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी सहायक प्रवक्ता रिता दाहालले दुबईको राजपरिवारका सदस्य नेपाल आएको भन्ने बाहेक कुनै पनि जानकारी नभएको बताइन् ।

शनिबार माक्तुमले विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए । त्यो कार्यक्रम निजी भएकाले त्यहाँ उनको उपस्थितिलाई सामान्यरुपमा लिइएको रिजालले बताए ।

तर कार्यक्रममा इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुँगमबहादुर कुँवर नेतृत्वको प्रहरी टोली सुरक्षार्थ खटिएको थियो । माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए ।

उपहार दिएको तस्वीर सार्वजनिक भएपछि विदेशबाट आउने श्रमिकले ल्याएको बाला समात्ने भन्सारले उनलाई ‘सुनको लौरो’ लान छुट दिएको भन्दै आलोचना भएको थियो ।

आलोचना बढ्न थालेपछि बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बाहिर सार्वजनिक भएजस्तो लौरो सुनको नभएको प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ‘यो टोकन अफ लभ हो, सुनको जस्तै देखिए पनि यो सुनको लौरो होइन ।’

आइतबार र सोमबार उनले झापाको भद्रपुर नगरपालिका र कचनकबल गाउँपालिकामा मस्जिद शिलान्यास गर्ने कार्यक्रम थियो । उनले मुस्लिमका लागि विश्वविद्यालय शिलान्यास गर्ने कार्यक्रम पनि राखिएको थियो ।

यी सबै कार्यक्रम व्यवसायी प्रसाईंले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न तयारी गरिरहेको झापा क्षेत्र नम्वर ३ मा पर्छन् । – अनलाइन खबर

प्रकाशित : २०७९ असार ५, आईतवार २१:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ