मन्त्रीका पिएहरु कसरी भए रातारात करोडपति ?


काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टचारलाई प्रोत्साहन गरेको बताएका छन् ।

राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।

‘वेबपेजमा तत्काल आफ्ना निर्णयहरु राख्ने काम मन्त्रालयहरुले किन गर्दैनन् ? मैले पारदर्शिता खोजेको यहाँनिर पनि हो । मैले यहीँ सभामा पहिलो पटक बोल्दा पनि राखेको थिए–अझ मैले त मन्त्रालयका मन्त्रीहरुको छलफल, बैठक, भेटघाट जस्ता गतिविधिहरूको भिज्युअलसमेत जनताले देखिनेगरी सिसी क्यामेरा राख्नुपर्छ भनेको थिएँ’, उनले भने, ‘यो विषयलाई अहिले पनि स्मरण गराउन चाहेँ ।’

देवकोटाले मन्त्रीका पिएहरु रातारात धनी हुने गरेको पनि स्मरण गराए । ‘मन्त्रीको पिए बनेर छोटै समयमा अकुत सम्पत्ति कमाए भनेर एकजनाको नामै हालैको समाचार माध्यममा आइरहेको छ। खाली खुट्टा काठमाडौं छिरेका उनले मन्त्रीको पिए बनेर चार वर्षमा नै ६ करोड सम्पत्ति कमाए भन्ने विवरण समाचारहरुमा छ’, उनले भने ।

उनले थपे, ‘यहाँ त नाम मन्त्री, सबै चाजोपाँजो मिलाउने पिएहरु । मैले राजकीय पदमा पुगेका इमान्दार साथीहरुलाई अनुरोध गर्छु–पिएबाट अलिक सर्तक हुनुहोला । कानुनको राज्यमा पारदर्शिता भ्रष्टाचारको रक्षाकवच हो । राज्यको हरेक निकाय तथा अंगहरु पारदर्शी हुनुपर्छ । जनताले थाहा पाउनुपर्छ। पारदर्शिताकै कारण दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जनताले पत्याए । विश्वास गरे । पारदर्शिता नभएको ठाउँमा भ्रष्टाचार छ, हुन्छ भनेर बुझे हुन्छ । यो प्रमाणित हो ।’

उनले काठमाडौं, धरानलगायतका केही पालिकाहरुले अहिले कार्यपालिकाको बैठक समेत लाइभ गरिरहेका बताए । उनले भने, ‘पारदर्शिताको यो सबभन्दा राम्रो नमुना हो ।’

प्रकाशित : २०७९ असार ६, सोमबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ