रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेलगत्तै दाइ हरिशरणको व्यंगात्मक तीतो प्रतिक्रिया !


काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेपछि उनका समर्थकहरु खुशी मनाइरहेका छन् । तर, उनका साख्खै दाजुबाट भने घुमाउरो असन्तुष्टि प्रकट भएको छ ।

रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । रविले ‘परिवारवाद’ देखिने भनेर आफूलाई पार्टीमा स्थान नदिएको हरिशरणको आशय छ ।

त्यसमाथि व्यंग्यात्मक टिप्पणी गर्दै हरिशरणले लेखेका छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’

हरिशरणले आफू रविको पार्टीमा आजीवन नलाग्ने घोषणा पनि गरेका छन् । ‘दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु।’ उनले लेखेका छन् ।

स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ ।

३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट लड्ने उनको तयारी छ । रविले पनि यही क्षेत्रबाट चुनाव लड्ने इच्छा व्यक्त गरिरहेका छन् । आज घोषणा कार्यक्रममा भने रविले आफू कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने खुलाएनन् ।

रविले ग्यालेक्सी टिभी छोडेर राजनीतिमा लाग्ने घोषणा गरेपछि दाई हरिशरणसँग उनको संवाद भएको थियो ।हरिशरणको दावीअनुसार उनले आफू पनि भाइको पार्टीमा लाग्ने इच्छा गर्दा रविले ‘परिवारवाद देखिने’ भन्दै इन्कार गरेका थिए । त्यसैलाई लिएर हरिशरणले आज व्यंग्य गरेका हुन् ।

भाइले जीवनकै ठूलो निर्णय लिँदा दाइले व्यक्त गरेको तितो प्रतिक्रियाले यी दुई दाजु–भाइबीच सम्बन्ध सुमधुर नरहेको संकेत गर्छ । – नेपाल प्रेस

प्रकाशित : २०७९ असार ७, मंगलवार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ