मधेसका मुख्यमन्त्री राउतले भने- केन्द्रको कुदृष्टिका कारण प्रदेश प्रहरी भर्ना गर्न सकेनौं


जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरी भर्ना गर्न अगाडि बढेपनि संघीय सरकारकै कारण सफल हुन नसकेको बताएका छन् ।

जनकपुरधाममा बुधबार सुरु भएको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारको कृदृष्टिका कारण हालसम्म पनि प्रहरी भर्ना सफल हुन नसकेको बताए । यद्यपि प्रहरी, प्रदेश निजामती लगायतका सेवामा छिट्टै भर्ना हुने विश्वास उनले व्यक्त गरे ।

मधेशका युवाको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताउँदै उनले मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताए । युवालाई प्रदेशमै रोजगारी सिर्जनाका लागि पहल भइरहेको उनको भनाई छ ।

सरकारी रोजगारीले मात्र बेरोजगारीको समस्या समाधान नहुने भन्दै उनले उद्योग धन्दाका साथै स्वरोजगारका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

युवाको सकारात्मक कदमले मात्र मधेश वा देशको विकास सम्भव रहेको मुख्यमन्त्री राउतले बताए । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा दुई दिने युवा महोत्सव सुरु भएको हो ।

महोत्सवमा मधेश मन्थन, मधेश जागरण, मधेश हटिया, मधेशका मानसहितका बिषयमा छलफल गर्दै सांस्कृतिक साँझको पनि आयोजना गरिने भएको छ ।

महोत्सव समापनका अवसरमा घोषणा पत्र समेत सार्वजनिक गरिने आयोजक महिला, बालबालिका, युवा तथाखेलकुद मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७९ असार १५, बुधबार २१:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ