इन्स्पेक्टर साहको सफलता: अपहरित बच्चाको उद्धार, अपहरणकारी महिला पक्राउ


जनकपुरधाम । जनकपुरधाम उपमहानगर ७ बाट अपहरणमा परेका एक बच्चाको उद्धार र अपहरणकारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया १४ घर भई जनकपुरधाम ७ मा बस्दै आएका हरिओम चौधरीका ३ बर्षीय छोरा सोहन कुमार चौधरी ६ असारमा अपहरणमा परेका थिए ।

साँझको समयमा बच्चालाई गायब पारेपछि आफन्त र प्रहरीले खोज्न सकेका थिएनन् । प्रहरीले अनुसन्धान गर्दै जांदा झण्डै १५ दिनपछि बच्चा सोहनको सकुशल उद्धार गरेका छन् । स्रोतका अनुसार प्रहरी निरीक्षक उमाशंकर साहले बच्चाको सकुशल उद्धार र अपहरणकारीलाई पक्राउ गर्न सफल भएका छन् ।

साथै बच्चालाई लुकाएर राखेका महोत्तरीको पिपरा गाउँपालिका ४ का ६५ बर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

खातुनको घरबाटै ती बच्चाको उद्धार गरिएको र खातुनलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको डिएसपी बस्नेतले बताए । उनका अनुसार पक्राउ गरेकी महिलामाथि अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको छ ।

महिलाले बच्चाको अपहरण के उदेश्यले गरेको विषयमा अहिले केहि खुल्न सकेको छैन् । डिएसपी बस्नेत भन्छन् – अहिले अपहरण किन गरेको कुरा अहिले बताउन चाहेकी छैन् । अनुसन्धान जारी छ ।

प्रकाशित : २०७९ असार २१, मंगलवार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ