मधेस: मिटरब्याजी रामदेवका छोरा र छोरी पुर्पक्षका लागि कारागार चलान


सप्तरी । विपन्न नागरिकको उठीवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

मिटरब्याजका नाममा रामदेवले गर्दैै आएको ठगीमै संलग्न रहेको आरोप लागेका खडक नगरपालिका ७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

मंगलबार दुवैको बयान सकिएपछि बुधबार साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि साह दाजुबहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केले जानकारी दिए ।

अदालतको आदेशसँगै उनीहरूलाई राजविराज कारागार पठाइएको छ । ठगी तथा आपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त रामदेव साह भने फरार छन् ।

फरार साह र परिवारका अन्य सदस्यको खोजी भइरहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले बताए । साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गरिसक्दासमेत धितो फिर्ता नगरेको आरोप छ ।

सप्तरीकै नौजनाले साह परिवारमाथि संयुक्त रूपमा ठगी तथा आपराधिक विश्वासघातका मुद्दा दायर गरेका छन् । थुनछेक बहस चलिरहँदा अदालतको मूलढोकामा बुधबार पनि पीडित पक्षले प्रदर्शन तथा नाराबाजी गरेका थिए ।

न्यायको माग गर्दै मंगलबारदेखि उनीहरूले अदालतअगाडि प्रदर्शन थालेका हुन् । – नयाँ पत्रिका

प्रकाशित : २०७९ असार २३, बिहीबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ