कर्जन्हा नगरपालिकाले करारको कर्मचारी हटाइएकोमा उप-प्रमुखको आपत्ति


धर्मेन्द्र पासवान, लहान । केहि दिनदेखि सिरहाका अधिकांश स्थानीय तहहरूले करारको कर्मचारी हटाउने होडबाजी नै चलेको देखिन्छ ।

यही क्रममा कर्जन्हा नगरपालिकामा करारको कर्मचारी हटाएपछि कर्जन्हा नगरपालिकाको उप-प्रमुख लक्ष्मी कुमारी श्रेष्ठ (यादव) ले आपत्ति जनाएकी छन् ।

कर्जन्हा नगरपालिकाले गरेको सूचनामा कर्जन्हा नगरपालिका कार्यपालिकाको मिति २०७९/०३/४ गतेको बसेको बैठकबाट १५ जनाको म्याद २०७९/०४/०१ गतेदेखि थप नहुने उल्लेख गरिएको छ ।

ती मध्ये नगरपालिकामा पूर्वाधार शाखाका सव-इन्जिनियर १ जना, कम्प्युटर अपरेटर १ जना, पशु सेवा शाखाका पशु प्राविधिक २ जना, कृषि विकास शाखाका कृषि प्राविधिक २ जना, ११ नं वडा कार्यालयका सहायक चौथो १ जना, नगरपालिकामा कार्यरत हलुका सवारी चालक लगायत ७ जना कार्यालय सहयोगीको करार थप नहुने सूचनामा भनिएको छ ।

करारमा भर्ना गरिएका कर्मचारी हटाउँदा आफुसंग कुनैपनि सरसल्लाह नगरि करारको कर्मचारीको म्याद नथप्ने सूचना र लामो स्टेटस लेख्दै सामाजिक संजाल फेसबूक मार्फत आफ्नो हक अधिकारको कुरा समेत गरेकी छन् ।

उप-प्रमुख श्रेष्ठले गरेको पोस्ट जस्ताकोतस्तै

सम्पूर्ण कर्जन्हा नगरबासीमा म कर्जन्हा नगरपालिकाको उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठको तर्फ बाट नमस्कार । सम्पूर्ण कर्जन्हा नगरबासीको ध्यानाकर्षण गर्न चाहे मैले म नगरपालिका को एउटा जिम्मेवार व्यक्ति हुँदाहुँदै पनि यो सूचना सम्बन्धी अवगत छैन मलाई ।

यस सूचना सम्बन्धी कुनै सहकार्य नै छैन मसंग । यो मात्र होइन, कर्जन्हा नगरपालिकाको यस्ता धेरै कुराहरू छन् जो मलाई जानकारी नै नदिइ निर्णय गरिन्छ । यो सब कस्ले गरिरहेको छ त ? दुई पार्टीको कार्यदलले मैले बुझ्न सकिन ।

नेपालमा यस्तो कुन स्थानीय ऐन बनेको छ जहाँ चाहिँ पालिकाको सम्पूर्ण निर्णय कर्यदलले गर्ने ? सबै काम कार्यदलले नै गर्ने हो भने जनता बाट चुनेर किन लाउनु पर्यो जनप्रतिनिधि । यसरी जनप्रतिनिधि कै अधिकार हनन् गरेर सबै कार्यदल ले गर्ने नियम कुन ऐन मा छ ? यो चासोको विषय मैले जनतामा सुम्पेको छु ।

म आफैं उप-प्रमुखको हैसियतले कर्जन्हा नगरपालिकाको न्यायाधीश हुँ तर लाज लागिरहेको छ, यो भनी रहँदा । म आफैं माथि भेदभावपूर्ण अन्याय भैरहेको छ । र हेक्का रहोस साथीहरू लाई जस्ले आफनो व्यक्तिगत स्वार्थको लागि यो सब गरिरहेको छ । आ-आफ्नो पदको मर्यादाक्रममा रहेर काम गरौं ।
कसैले व्यक्तिगत स्वार्थमा आफ्नो आसेपासेलाइ जागिर लगाउनलाई मात्र यो करार कर्मचारी हटाइएको हो भने पहिला र अहिले को मेयरसाब के फरक पर्यो ? होइन भने कार्यविधि अनुसार सम्बन्धित पधादिकारीहरुसंग सहकार्य गरि निष्पक्ष पारदर्शी गराउनु पर्‍यो, न कि कोइ दुईजनाले बन्दकोठामा बसेर गरेको निर्णयलाई म उपप्रमुखको हैसियतले यस्ता कुरालाई मान्यता दिने छैन । धन्यवाद नमस्कार

प्रकाशित : २०७९ श्रावण १, आईतवार ०७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ