रौतहटमा लोसपालाई झट्का, सयौं नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा


रौतहट । जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का १०० भन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टीत्यागको घोषणा गरेका हुन् ।

२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै नेता कार्यकर्ताले पार्टी परित्याग गरेको गौर नगरपालिका ३ का पूर्व वडाध्यक्ष श्याम सुन्दर गुप्ताले बताए ।

पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पूर्वनगर प्रमुख अजयकुमार गुप्ता, उपप्रमुखकी प्रत्यासी उषा झा, वडा नम्बर ५ का पूर्व अध्यक्ष रामस्वार्थ यादव, वडा नम्बर ९ का पूर्वअध्यक्ष राजेश सिंह (मोहन), वडा सदस्य भैरो महतो, बैजनाथ महतो लगायत छन् ।

गत स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकालाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताको रहेको छ ।

पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पदमा उम्मेदवार भएका भतिजो शम्भु साहलाइ सघाएको उनीहरूको आरोप छ ।

त्यस्तै दुर्गा भगवती गाउँपालिकामा अध्यक्षको उम्मेदवार भएका माओवादी केन्द्रका शम्भु सिंहलाइ​ संघीय सांसद अनिल झाले अप्रत्यक्ष रूपमा सहयोग गरेको उनीहरूको आरोप छ। त्यसैकारण आफूहरू पराजित भएको उनीहरूले बताए।

लोसपाबाट पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ