प्रहरी बढुवामा देउवाको हस्तक्षेप: पीएसओदेखि स्वकीय सचिवका ज्वाइँसम्म लाभान्वित


काठमाडौं । सुरक्षा निकायको सरुवा बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तर हस्तक्षेप देखिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिम्मेवारी सम्हालेयता सरुवा बढुवामा पारदर्शीता अपनाउने बताए पनि दुवै संगठनमा राजनीतिक शक्ति केन्द्रहरूको प्रभाव देखिइरहेको छ । यसैक्रममा प्रधानमन्त्री देउवाका पीएस‌ओदेखि स्वकीय सचिवका ज्वाइँसम्म बढुवामा पहिलो नम्बरमा उक्लिएर प्रत्यक्ष लाभान्वित बनेका छन् ।

नेपाल प्रहरीमा एक साताअघि भएको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ कोमल शाह पहिलो नम्बरमा रहेर एसपी बढुवाका लागि सिफारिस भएका थिए । उनी डीएसपीमा आफ्नो भर्ना ब्याचमध्ये २५ औँ स्थानमा थिए । प्रधानमन्त्री देउवाकै जोडबलमा शाहले २४ स्थान माथि उक्लिएर पहिलो स्थान कब्जा गरेका हुन् ।

सशस्त्र प्रहरीमा शुक्रबार साँझ वरिष्ठ उपरीक्षक ९एसएसपी० का लागि निकालिएको बढुवा सिफारिसमा देउवाका स्वकीय सचिव भानु देउवाका आफ्नै बहिनी(ज्वाइँ रहेका दीपेन्द्र कुँवर ‘ख’ आफ्नो भर्ना ब्याचमध्ये पहिलो स्थानमा रहेर एसएसपीका लागि सिफारिस भएका छन् ।

एसपीमा उनको वरीयता भर्ना टोलीमध्ये १० औँ स्थानमा थियो । कुँवरकै लागि सरकारले डेढ महिना अघि सशस्त्र प्रहरी नियमावली संशोधन गरेको थियो । एसएसपीमा बढुवा हुन एसपीमा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्नेमा कुँवरलाई बढुवा गर्न त्यसलाई ३ वर्षमा घटाइएको थियो जसले गर्दा उनीहरू बढुवाका लागि योग्य बनाइएका थिए ।

दीपेन्द्र कुँवर ‘ख’ सहित ३४ जना २०७५ चैतमा एसपीमा बढुवा भएका थिए । एसएसपीमा दरबन्दी रिक्त भएपछि कुँवरसहित ११ जनालाई गत कात्तिकतिर कामु एसएसपी दिइएको थियो । थप तीनजनाले गत वैशाखमा कामु एसएसपीको जिम्मेवारी पाएका थिए । कामु पाएका सबै १४ जनासहित अन्य दुईजना यसपटक एसएसपीका लागि सिफारिस भएका हुन् ।

यसअघि सशस्त्र प्रहरीमा कामु एसएसपी भएको झन्डै डेढ वर्षपछि मात्र केही समयअघि उनीहरू बढुवा भएका थिए । सशस्त्रमा दरबन्दी रिक्त रहेको अवस्थामा बढुवाका लागि समय नपुगेको रहेछ भने कामु जिम्मेवारी दिएर दर्ज्यान्ही चिन्हसम्म दिइने चलन छ ।

तर, कामु जिम्मेवारी दिँदा अघिल्लो दर्जाकै वरीयताक्रम कायम रहन्छ । यसपटक एसएसपीमा सिफारिस भएका १६ जनामध्ये पहिलो नम्बरमा रहेका प्रविण कँडेलले २०५५ सालमा सेवा सुरू गरेका हुन् । दोस्रो नम्बरमा कुँवर छन् भने तेस्रो नम्बरमा रहेका विष्णुप्रसाद भट्ट एसपी रहँदा आफ्नो भर्ना ब्याचमध्ये पहिलो नम्बरमा थिए ।

कुँवरसहित हाल सिफारिस भएका भुपेन्द्र केसी, उद्धवबहादुर न्यौपाने, नरेन्द्र सेन, नीरकृष्ण अधिकारी, शंकर खनालले डीएसपीबाट एसपीमा बढुवा हुँदा नै छलाङ मारेका थिए ।

डीएसपीमा आफ्नो भर्ना ब्याचीमध्ये उनीहरू सबै ६० जनाभन्दा तल थिए । सशस्त्रमा यसअघि आईजीपी अर्यालले एआईजीमा दुईवटा दरबन्दी रिक्त रहेपनि एकजना मात्र बढुवा सिफारिस भएपछि आलोचना खेपेका थिए ।

नेपाल प्रहरीको बढुवामा ज्येष्ठता नमिच्ने बताइरहेका आईजीपी सिंह त्यसमा सफल देखिएपनि वरीयतामा भने चुकिरहेको आलोचना हुन थालेको छ । – नेपाल प्रेस

प्रकाशित : २०७९ श्रावण ८, आईतवार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ