अयोध्याको राम मन्दिरमा विमलेन्द्र निधिको धनुष राखिने


काठमाडौं । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सहमत भएको छ ।

अयोध्या भ्रमणका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका छन् ।

छलफलका क्रममा महामन्त्री रायले आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताए । रायले भने ‘मलाई विश्वास छ त्यो प्रस्तावमा सबैले सहमति जनाउनु हुनेछ ।’

धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहेका कांग्रेस नेता निधि र श्रीराम जन्भभूमि तीर्थक्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यामा छलफल भएको थियो ।

छलफलमा जानकी मन्दिरका महन्थ श्रीरामतपेश्वर दासलगायत जनकपुरबासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा। अनिल मिश्रलगायतको सहभागिता थियो । त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए ।

यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउनेबारे पनि छलफल भएको छ ।

लामो समयदेखि विवादमा रहेको रामजन्मभूमिका विषयमा भारतको सर्वोच्च अदालतको फैसलापछि अयोध्यामा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ । सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ