दूधको उचित मूल्य नपाएको किसानको गुनासो


बाँके । बाँकेको सुदूर पूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका पशुपालक किसानले उत्पादन गरेको दूधको मूल्य पाउन सकेका छैनन् ।

परम्परागत तरिकाले भैँसीपालन गर्दै आएका एउटै किसानले ४०–५० लिटर दूध उत्पादन गरे पनि बजार मूल्य नपाउँदा मर्कामा परेको नरैनापुर गाउँपालिका–५, मटेहियाका रामफेरन यादवले बताए ।

यादवले २५ वटा भैँसी पालेका छन् । ती मध्ये १२ वटाले दूध दिन्छन् । दैनिक ३५–४० लिटर दूध उत्पादन गर्दै आएका उनले प्रतिलिटर ६०–७० रुपैयाँ मूल्य पाउँछन् । गाउँमा डेरी उद्योग सञ्चालनमा आएपछि दूधको गुणस्तरीयता कम भएको भन्दै डेरी उद्योग र दूध संकलन केन्द्रले उचित मूल्य नदिएको बताए ।

‘आज दूधको क्वालिटी छैन भनेर डेरी उद्योग र संकलन केन्द्रले मूल्य घटाइदिन्छन्,’ उनले भने, ‘कहिलेकाहीँ प्रतिलिटर ४५–५० रुपैयाँ मात्र दिन्छन् ।’ नरैनापुर गाउँपालिका–५, मटेहियाकै राजितराम यादवले दैनिक २० लिटर दूध बिक्री गर्छन् । उनले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्छ । तर, उनी दूधको मूल्यमा सन्तुष्ट छैनन् ।

प्रतिलिटर कम्तीमा ४५ रुपैयाँमा दूध बिक्री गर्दै आएको उनले बताए । उनले दैनिक सरदर दुई हजार रुपैयाँको दूध बिक्री गर्छन् । ‘डेरी उद्योग सञ्चालन भएपछि दूध बिक्री गर्न सजिलो भएको छ, तर उचित मूल्य पाउन सकिएको छैन,’ उनले भने ।

मटेहियाकी अनोखा यादव पनि डेरी उद्योगलाई दूध बेच्छिन् । उद्योगमा दूध पुर्याउन आएकी उनले बिहान र बेलुका गरी २० लिटर दूध बिक्री गर्दै आएको बताइन् । खेती किसानीसँगै भैँसीपालन गरेको बताउँदै उनले आफूले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य आफैँ तोक्न नपाएकोमा गुनासो गरिन् ।

‘भैँसी पाल्न मेहनत र पैँसा खर्च हुन्छ, तर हामीले उत्पादन गरेको दूधको मूल्य हामीले निर्धारण गर्न पाउँदैनौँ । दूध पातलो भयो भनेर मूल्य घटाइदिन्छन्,’ उनले भनिन् ।

नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया र वडा नं. ६ गंगापुरका अधिकांश कृषकले भैँसी र गाई पालेका छन् । एउटा परिवारले कम्तीमा पाँचदेखि १० वटा भैँसी पाल्दै आएका छन् । परम्परागत रूपमा भैँसीपालन गर्दै आएका किसानहरूले राज्यले प्रदान गर्ने अनुदान पाएका छैनन् ।

‘हामीलाई आधुनिक तरिकाले भैँसी पालन गर्न कसैले सिकाएको छैन । न त राज्यका निकायबाट अहिलेसम्म कुनै सेवा, सुविधा तथा अनुदान पाएका छौँ,’ किसान रामफेरनले भने, ‘बाजे, बराजुले जसरी पालन गर्नुहुन्थ्यो, अहिले पनि त्यसैगरी पालिरहेका छौँ ।’

यहाँका किसानले बिहानको खाना खाएर पायक पर्ने जंगल र खुला चौरमा भैँसी चराउन लैजान्छन् । दिनभर बाहिर चराएर बेलुकी गोठमा बाँध्छन् । ‘गोठमा बाँधिएका भैँसीलाई थोरै घाँस, पराल, भुस दिइन्छ । त्योभन्दा धेरै दिन सक्ने क्षमता हामीसँग छैन,’ किसान राजितराम यादवले भने, ‘परम्परागत तरिकाले पालन गर्दा पनि भैँसीले दूध राम्रो दिइरहेका छन् । तर बजार भाउ पाउन सकेका छैनौँ ।’

प्रकाशित : २०७९ श्रावण १६, सोमबार ०७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ