विप्लव विरूद्ध पक्राउ पुर्जी जारी भएकोमा मोदीको आपत्ति


काठमाडौं । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूमाथि प्रक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका सो समूहका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

मोदीले सरकारले यसअघि नेकपाका नेता-कार्यकर्तामाथि लागेका मुद्दाहरू खारेज गर्ने र जेलमा रहेकाहरूलाई प्रक्रिया पुरा गरी रिहा गर्ने सहमति जनाए पनि नेताहरूमाथि पक्राउ पुर्जी जारी गरिएको उनले बताए ।

‘नेकपा विप्लव समूहसँग सरकारले तीन बुँदे सहमति गरेको छ। त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपडक, वारेन्ट जारी हुन त यो अदालतको कुरा हो। तर सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ। जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ,’ उनले भने ।

ललितपुर जिल्ला अदालतले सोमबार सार्वजनिक सूजना जारी गर्दै महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विक, विप्लव समूहबाटै हालै मात्र विद्रोह गरी नेकपा बहुमत गठन गरेका मेहन्तप्रकाश वली, मोहनबहादुर कार्की लगायतविरूद्ध हातहतियार तथा खरखजाना, साङ्गठनिक अपराध र आपराधिक लाभ, विस्फोट गराई कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

यस्तै मोदीले संविधान जारी गर्नुअघि भएको थारी आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएकाहरूबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको बताए ।जेलमा रहेकाहरूको रिहाई र मुद्दा फिर्ताका लागि उनले सरकारसँग माग गरे ।

प्रकाशित : २०७९ श्रावण १७, मंगलवार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ