सप्तकोशीको बाँध फुट्यो


चतरा । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ ।

बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका ६ डुबानमा परेका छन् ।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए ।

सप्तकोशी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । ‘कोशीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो’, उनले भने ।

सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् ।

नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो । बेलका नगरपालिका ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो ।

नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन्। नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

सप्तकोशी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ। बर्खामा नदीले वर्षेनी धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोशी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन भएका छन् ।

प्रकाशित : २०७९ श्रावण १८, बुधबार ०९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ