सर्वोच्च अगाडिबाट बच्चासहित निहारिकालाई प्रहरीले उठायो


काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् ।

वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएका छन् ।

आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई महिला प्रहरीले झ्यानाकुटी पार्दै गाडीमा हालेका थिए । बच्चालाई पनि उठाइएको थियो । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।

निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताएकी छन् । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनको प्रतिज्ञा छ ।

निहारिका दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् । उनलाई दुई अभियन्ताले त्यसबेला अनशनमा साथ दिएका थिए । यसपालि भने उनी एक्लै अनशन बसेकी हुन् ।

आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको निहारिकाको दाबी छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग निहारिकाले राखेकी छन् ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार १२:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ