मन्त्रिपरिषद बिस्तारको तयारीः लोसपाबाट को को बन्दैछन् मन्त्री ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पनि मन्त्रिपरिषद बिस्तारको लागि गृहकार्य गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी गराउन उनले तयारी थालेका हुन् ।

सरकारमा सहभागी हुनेबारेमा देउवासँग लोसपाका नेताहरुले आइतावार बालुवाटारमा छलफल गरेका थिए । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण लगायतले देउवालाई भेटेका थिए ।

कर्णले सरकारमा सहाभागी हुने तयारी भएको जानकारी दिए। तर,निर्णय भइनसकेको कर्णको भनाइ छ । ‘फाइनल भएको छैन । छलफल मात्रै हो,’ उनले भने ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नु अघिदेखि नै लोसपाका नेताहरुसँग देउवाले छलफल गर्दै आएका थिए । देउवा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० र नेकपा ९एकीकृत समाजवादी०ले पछिल्लोपटक आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्री फेरबदल गरेका थिए ।

चुनावको मिति तोकेको सरकारले फेरि मन्त्रिपरिषद बिस्तारको तयारी गरेको हो । लोसपाका तर्फबाट नेता अनिल झा र शरतसिंह भण्डारी सरकारमा सहभागी हुने तयारी भएको हो । हाल पाँच दलीय सत्ता गठबन्धन रहेकोमा लोसपा थपिए ६ दलीय हुनेछ ।

सरकार कामचलाउ भइसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महत्वपूर्ण निर्णय गर्न नपाउने भन्दै सरकारको आलोचना गर्दै आएको छ ।

संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न मिल्ने व्यस्था छ । देउवा नेतृत्वको मन्त्रिपरिषद हाल २४ सदस्यीय छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएपछि हाल रक्षा मन्त्रालयको जिम्मेवारी देउवा आफैले सम्हालिरहेका छन् ।

प्रकाशित : २०७९ श्रावण २३, सोमबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ