काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । ठूला उद्योगमा चाहिएजति बिजुली पुर्याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो ।
गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पुर्याउने लक्ष्य राखिएकामा ३५१ युनिट पुगेको प्राधिकरणले जनाएको छ । यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ ।
खुद आयात घट्यो
प्राधिकरणको नाफा तीव्र वृद्धि हुनुमा भारतसँगको विद्युत् व्यापारले पनि योगदान पुर्याएको देखिएको छ । गत वर्षदेखि इन्डियन इनर्जी एक्सचेन्जमा बोलकबोल दरमा करिब चार सय मेगावाट बिजुली निर्यात भएकाले पनि यस पटकको नाफा बढाउन सहयोग पुगेको छ ।
प्राधिकरणका अनुसार गत आवमा विद्युत् निर्यातबाट प्राधिकरणले तीन अर्ब ८८ करोड रुपियाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा ४९ करोड ३० लाख युनिट बिजुली भारत निर्यात भएको प्राधिकरणले जनाएको छ ।