मधेस : ज्यान मुद्दामा एकै परिवारका तीन जना पक्राउ


रौतहट । चन्द्रपुर नगरपालिका–४ पैनीटोलका ७७ वर्षीय रामगोपाल घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

घिमिरेको कुटपिटबाट मृत्यु भएको भन्दै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने एकै परिवारका श्रीमान्(श्रीमती र उनीहरूका छोरा छन् ।

पक्राउ पर्नेमा चन्द्रपुर–५ का रामचन्द्र चौधरी, उनकी श्रीमती ४६ वर्षीया प्रमिला चौधरी र छोरा २२ वर्षीय अजय चौधरी रहेको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी सन्तु जैसवारले बताए । चौधरी परिवारको कुटाइबाट घिमिरेको मृत्यु भएको भन्दै अनुसन्धान अगाडि बढेको उनले बताए ।

गत साउन ४ गते फोहोर फालेको विषयमा घिमिरे र चौधरी परिवारबीच विवाद भएको थियो । विवादपछि चौधरी परिवारले कुटपिट गरेको घिमिरे परिवारको आरोप छ । कुटपिटपछि घाइते भएका घिमिरेको सुरुमा चन्द्रपुरस्थित सिभिल अस्पतालमा उपचार भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौं मेडिकल कलेजमा उपचारपछि उनी भदौ ३ गते डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि पुनस् समस्या बल्झिएर उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको त्यहीँ उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले गत आइतबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रकाशित : २०७९ भाद्र ८, बुधबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ