गठबन्धनमा कांग्रेसले दाबी गर्‍यो १०० सिट, अन्य कुन दलको कति ? हेर्नुहोस्


काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेश गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ–आफ्नो पेस गरेका हुन् ।

देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । तर, गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेस गरेका छन् । बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी पेस गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

नेताहरुका अनुसार यसअघिका बैठकमा दलहरुले सिट संख्यामा औपचारिक दाबी पेस गरेका थिएनन् । ती नेताका अनुसार कार्यदलमा देशभरका कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्नेबारे मत विश्लेषणको काम समेत थालेको छ । ‘कुन क्षेत्रमा कसको कस्तो अवस्था छ भनेर सामान्यतः छलफल भएको छ । अब केही होमवर्क आवश्यक छ, त्यो शुक्रबार ४ बजे पुनः बैठक बसेर टुंगोमा पुग्छौँ,’ कार्यदलका ती सदस्यले भने ।

बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले दिएको जिम्मेवारीअनुसार बिहीबारदेखि १६५ वटै निर्वाचन क्षेत्रका अवस्थाबारे समीक्षा भइरहेको बताए ।

‘हामीले सबै निर्वाचन क्षेत्रको अवस्था कस्तो छ रु भनेर समीक्षा थालेका छौँ । हामीबीच खुलस्त दाबी प्रस्तुत गर्ने कामसमेत भयो,’ उनले भने, ‘हामी त्यसलाई न्यायसंगत ढंगले टुंगोमा पुर्‍याउनेछौँ ।’

प्रकाशित : २०७९ भाद्र ९, बिहीबार २०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ