थारू समुदायले आज अटवारी पर्व मनाउँदै


दाङ । थारू समुदायको दोस्रो ठूलो पर्व अटवारी आज मनाइँदै छ। दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारू समुदायको बसोबास रहेका जिल्लाका थारू समुदायमा कुशे औँशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ ।

सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ ।

यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने गर्दछन् । उनीहरूले गएराती दर पकाएर खाने र दिउँसो अनदी चामलको रोटी सहित ७ परिकार बनाउने गर्दछन् । त्यो परिकार सोमबारको दिन दिदीबहिनी, छोरी चेलीहरूको घरमा लगेर दिने गर्दछन् ।

तर, पछिल्लो समय आधुनिकता बढेसँगै यो परम्परा लोप हुँदै गएको तुलसीपुर उपमहानगरपालिका १८ का मनपति चौधरीले बताए । उनका अनुसार पछिल्लो समय कला संस्कृति तर्फ भन्दा पनि अन्य कुरामा ध्यान दिने गर्दा लोप हुँदै गएको हो ।

उनले भने,‘ पहिला हामी सँधै छोरी चेलीहरूको घरमा जाने पर्दथ्यौ । तर, विगत ५ वर्षदेखि गएको छैन् । उनीहरूले नै अब यो चलन हटाउनु पर्छ, भन्छन् । त्यो भएर जान छाडेका छौँ। अहिले कला संस्कृति भन्दा पनि मोबाइल तर्फ नै बढि ध्यान हुन्छ ।’ अटवारी पर्वमा ५ देखि ७ परिकारहरू बनाउने गरेको र त्यो नै छोरी चेलीहरूको घरमा लैजाने परम्परा रहेको पनि उनले बताए ।

उनले यो पर्वका कुनै चिज नकाट्ने र घरका कुनै पशु चौपाया मरेपछि नमनाउने गरेको पनि बताए । उनले यो पर्वमा माघी पर्वको जस्तो मासु काटेर नखाने गरेको पनि बताए। उनले भने, ‘हामीले केही पनि काट्दैनौँ । आजको घरमा पशुचौपाया, कुखुरा केही मरे भने यो पर्व मनाउँदैनौँ । तर, पशुचौपाया कुखुराले आजको दिन बच्चा जन्माएमा यो पर्व सफल भएको र घरमा राम्रो हुने भन्ने चलन रहेको छ ।’

तुलसीपुर ७ मोतिपुरका ६३ वर्षीय विज्री लाल चौधरीलाई पनि पछिल्लो समय आफ्नो धर्म संस्कृति हराउँदै गएको बताए। उनले थारू समुदायले आफ्नो पर्व मात्र नभइ, तिज ,दशैँ, तिहार मनाउने गरेको भएयता पनि आफ्ना कला संस्कृति हराउन थालेको बताए ।

उनका अनुसार यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने र रातमा दर पकाउने र बिहान नै नुहाएर दिउँसो आफैले रोटी पकाउ चलन रहेको छ । रोटी तथा परिकारहरू पुरुषहरूले नै बनाउने र त्यो छोरी चेलीहरूको घरमा लैजाने गरेको बताए ।

उनले छोरी चेलीहरूको घर जति टाढा भएपनि सोमबारको दिन ति परिकारले अग्रासन गर्नु पर्ने पनि बताए । उनले भने,‘ छोरी चेली हाम्रो घरमा आउँदैनन् । यो पर्व मनाउने हाम्रो परम्परा नै हो। तर, पछिल्लो समय थारू समुदायले तिज, दशैँ, तिहार जस्ता चाडपर्व मनाउ थालेका छन् । हाम्री छोरी चेलीहरू तिजको दिन व्रत बस्ने गरेका छन् । पहिला हाम्रो यस्तो चलन थिए। तिहारमा हामीले फुलको माला लगाउँदैन्थ्यौ । तर, अहिले त्यो चलन पनि चलेको छ। जमाना परिवर्तन भएसँगै सबै कुरामा परिवर्तन भइरहेको छ ।’

यस्तै उनले चाडपर्व मनाउने कुरामा परिवर्तन भइरहेको अवस्थामा आफ्ना मौलिक बाजाहरू हराउँदै गएको पनि गुनासो गरे। उनले अहिलेका युवा पुस्ताहरुले थारू जातिहरूको मौलिक बाजा भन्दा साउण्ड सिस्टम प्रयोग गर्न थाले पनि हराउँदै गएको बताए । उनले त्यसलाई संरक्षण गर्नको लागि सबैले ध्यान दिनु पर्छ ।

‘पहिला हामीले मादल बजाएर नाचगान गर्ने गर्थ्यौँ । तर, अहिलेकाले डान्स साउण्ड सिस्टमबाट गर्दछन्,’उनले भने ।​ अटवारी पर्वलाई महाभारतको कथासँग जोडेको भएपनि गहन अध्ययन छैन् ।

अटवारी पर्वलाई महाभारतको कथासँग जोडेको भएयता पनि थारू बुद्धिजीवीहरूले भने यसको गहन अध्ययन अनुसन्धान बाँकी रहेको बताउँछन् । अहिले परम्परा मान्ने गरी मनाउन खोजेको जस्तो देखिएको घोराही उपमहानगर १२ का डाक्टर जर्मन चौधरीको भनाइ छ ।

उनले यसका बारेमा अग्रजहरूलाई सोध्दा पनि अहिलेसम्म स्पष्ट अनुसन्धान भएको आफूले नपाएको उल्लेख गरे । उनले यो पर्वलाई यो वा त्यो रुपमा प्रसङ्ग जोड्न क्रम धेरै रहेको भएयता पनि वास्तविक यही नै हो रु भन्ने बारेमा कसैलाई थाहा नभएको पनि बताए ।

उनका अनुसार कुनै पनि चाडपर्वको धार्मिक र सामाजिक महत्व हुन्छ । अटवारी पर्व थारू समुदायमा परम्परादेखि चल्दै आएको हो । उनले यसलाई धार्मिक महत्वका रुपमा भन्दा सामाजिक महत्वका रुपमा लिन सकिने पनि बताए । उनले पछिल्लो समय आफ्नो संस्कार, संस्कृति, पहिचान गर्ने सोच चेतना बढेको भएयता पनि अझै भने जस्तो नभएको पनि बताए ।

प्रकाशित : २०७९ भाद्र १२, आईतवार ०८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ