नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक बोलाइयो, कसको छ बहुमत ?


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल गर्न सोमबार विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।

सोमबार मध्यान्ह १२ बजेका लागि बैठक तय भएको समितिले जनाएको छ । प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई आजको राष्ट्रियसभाले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।

भोलि सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको समिति सचिव मनोजकुमार गिरीले बताए ।

विधायन व्यवस्थापन समितिमा कुन दलका कति ?
विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत छ । कांग्रेसबाट ज्येष्ठ सदस्य नारायणदत्त, जितेन्द्रनारायण देव र प्रकाश पन्तसमेत तीनजना छन् । नेकपा माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, सुरेशकुमार आलेमगर र राधेश्याम पासवान गरी ४ जना छन् ।

नेकपा एमालेबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरवसुन्दर श्रेष्ठ छन् । राष्ट्रपतिबाट मनोनीत सांसद विमला राई पौडयाल एमालेनिकटकै हुन् । यसो गर्दा एमालेको पक्षमा ४ जना पुग्छ ।

नेकपा एकीकृत समाजवादीबाट डा। बेदुराम भुसाल र उदयबहादुर बोहरा गरी दुईजना छन् । सांसद खिमलाल देवकोटा पनि नेकपा एसनिकट नै मानिन्छन् । जसपाबाट प्रमिलाकुमारी सदस्य छन् । यसरी हेर्दा समितिमा गठबन्धनकै बहुमत देखिएको छ ।

प्रकाशित : २०७९ भाद्र १२, आईतवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ