विद्यालय बन्द कार्यक्रम स्थगित, मन्त्रालयसँग वार्ता गर्ने निर्णय


काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ ।

राष्ट्रिय समितिको सोमबार बसेको आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए ।

वार्तामा जाने निर्णय भएपनि कुन समयमा मन्त्रालयमा जाने भन्ने अझै समय यकिन नभएको उनले बताए । ‘वार्ता तथा छलफलका लागि आज नेपाल शिक्षक महासंघको समन्वयमा बसेको बैठकले ७ सदस्यीय वार्ताका लागि समिति गठन भएको छ’ उनले भने ।

परिषद्ले विभिन्न मागहरू राख्दै भदौ १२ गतेदेखि १८ गते अर्थात एक साता सामुदायिक विद्यालय बन्द आह्वान गरेको थियो। यही आह्वान ऐक्यबद्धता जनाउँदै आइतबार केही स्थानीय तह, विद्यालयले बन्द गरेको थियो ।

मन्त्रालयले विद्यालय कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित मागहरू कार्य सूचीमा समावेश गरिएको जनाएको छ ।

त्यस्तै, अन्य ज्ञापनपत्रमा राखिएका मागहरू विषयमा वार्तामा बसी छलफल गरिने मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए ।

बन्द कार्यक्रम स्थगित
मन्त्रालयले बोलाएको वार्तामा जाने निर्णयपछि परिषद्ले विद्यालय बन्द कार्यक्रम स्थगित गरेको छ। परिषद्का उपमहासचिव खत्रीले बन्दको कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

प्रकाशित : २०७९ भाद्र १३, सोमबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ