आज भाद्र शुक्ल चतुर्थी : भगवान् गणेशको जन्मदिन, रथयात्रा गर्ने चलन


जनकपुरधाम । भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पर्व । भगवान् गणेशको जन्मदिनको रूपमा यो दिनको महत्त्व छ ।

शिव र पार्वतीका पुत्र गणेशलाई विघ्ननाशक देवताका रूपमा पुजिन्छ। सनातन धर्मावलम्बीका सबै मांगलिक कार्यको सुरुआतमा गणेशको पूजा गर्ने परम्परा छ ।

सबै देवताका प्रिय, भक्तजनको थोरै प्रयासमा खुशी हुने र सिद्धि दिने देवताका रूपमा पनि उनको प्रसिद्धि छ । यस्ता देवताको जन्मदिनमा विधिपूर्वक आराधना गर्दा मनोकांक्षा सिद्ध हुने बताइन्छ । लड्डु र दुवो उनको प्रिय वस्तु भएको बताइन्छ । सिन्दुर, रक्तचन्दन, रातो फूल र रातो वस्त्र आदि चढाएर उनको पूजा आराधना गरिन्छ ।

गणेश चतुर्थीका अवसरमा काठमाडौं उपत्यकाका चार विनायक सूर्य विनायक, चन्द्र विनायक, मरु विनायक र अशोक विनायकका साथै कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ । गणेशजीकै श्राप परेको हुँदा यो दिन चन्द्रमाको दर्शन गर्न नहुने पौराणिक मान्यता छ । नेवार समुदायले आज चथा पर्व मनाउँछ ।

भारतका विभिन्न भागमा यो दिन गणेशको रथयात्रा गर्ने चलन छ, जहाँ हजारौँको संख्यामा श्रद्धालु सहभागी हुन्छन् । केही वर्षयता नेपालका मुख्य शहरमा पनि गणेश रथयात्रा गर्न थालिएको छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार ०६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ