नागरिकता विधेयक : विधायन समितिबाट पनि जस्ताको तस्तै पास


काठमाडौं । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । बहुमतले कुनै संशोधनबिना विधेयक पारित गरेको समितिका सदस्य भगवती न्यौपानेले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिइन् ।

समितिका १५ सदस्यमध्ये एमालेका तीन सांसदले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए भने स्वतन्त्रबाट खिमलाल देवकोटा र विमला राई पौड्यालले फरक मत राखेको न्यौपानेले बताइन् ।

भगवती न्यौपानेसहित समितिका अन्य सदस्यहरु भने यथास्थितिमै विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका थिए । समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने तयारी गरेको छ।

राष्ट्रियसभाले पनि भोलि दिउँसो ३ बजे बस्ने बैठकबाट विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ । तर, संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समावेश गरिएको छैन ।

राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयक प्रतिनिधिसभाबाट विधेयक जस्ताको तस्तै पास भइसकेको छ । राष्ट्रियसभाबाट पनि पास गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐन बन्ने कानुनी व्‍यवस्था छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ