मिटरब्याजी सुदखोरविरुद्व ‘किसान- मजदुर मार्च’ घोषणा


काठमाडौं । मिटरब्याजी सुदखोरविरुद्व संघर्षरत किसान र मजदुरहरूले न्यायको याचना गर्दै ‘किसान–मजदुर मार्च’ गर्ने घोषणा गरेका छन् ।

आफूहरूको अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको मागसहित विभिन्न जिल्लाबाट काठमाडौं आएर सडक संघर्ष गरिरहेका किसान र मजदुरहरूले माइतीघरदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म ‘किसान–मजदुर मार्च’ गर्ने घोषणा गरेका हुन् ।

उनीहरूले मार्चमा सहभागी हुन र आफूहरूको न्यायका लागि बोलिदिनसमेत सबै सामाजिक न्यायप्रेमीहरूसँग आह्वान गरेका छन् । नवलपरासीका विभिन्न स्थानीय तहसहित विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजी सुदखोरपीडित किसानहरूले एक महिनादेखि माइतीघरको सडकमा धर्ना दिइरहेका छन् ।

उनीहरूले दोस्रोपटक काठमाडौं आएर सडकबाट धर्ना दिएको आज एक महिना पूरा भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति अध्यक्ष रामसुरत गुप्ताले सडक संघर्षको एक महिना बितेको सन्दर्भमा आज माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म किसान–मजदुर मार्च आह्वान गरिएको बताए ।

‘हामी एक महिनादेखि सडक संघर्ष गरिरहेका छौं । सरकारले हाम्रो मागलाई सुनुवाइ गरेको छैन,’ उनले भने, ‘अहिले केही सुदखोरहरू गिरफ्तार भएका छन् । तर धरौटीमा छुट्ने सिलसिला छ । सरकारले तत्कालै हाम्रो ऋण मिनाहा गरी विगतमा ऋण रकमभन्दा बढी रकम तिरिसकेकाहरूलाई सो रकम फिर्ता गराइदिनुपर्छ ।’

उनले बन्धक बनाइएको जमीन फुकुवा गर्ने प्रतिबद्धतासहित आफूहरूको उद्धार र पुनस्स्थापनाको काम तत्काल थाल्न माग गरे । ‘सुदखोरले किसानलाई भूमिहीन बनाएको छ । त्यो ठाउँमा सबै जमिन फिर्ता गर्ने प्रक्रिया सुरू गरियोस् । सुदखोरको सम्पत्ति छानबिन होस्,’ संघर्ष समितिका अध्यक्ष गुप्ताले भने ।

प्रकाशित : २०७९ भाद्र १६, बिहीबार ०७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ