अब म्यादी प्रहरीले सामाजिक सञ्जालमा टिप्पणी र जथाभावी सामग्री सेयर गर्न नपाउने


काठमाडौं । आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ ।

गृह मन्त्रालयले स्वीकृत गरेको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न नपाउने उल्लेख छ ।

म्यादीले ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

प्रहरी प्रवक्ता नायब महानिरीक्षक ९डीआईजी० टेकप्रसाद राईले गृहबाट स्वीकृत मापदण्डअनुसार भर्ना प्रक्रिया अघि बढाउन लागिएको बताए । मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका बेला आचारसंहिता र अनुशासनविपरीत गतिविधि गरेको आरोपमा करिब ५० म्यादी प्रहरीलाई कारबाही गरिएको थियो ।

आगामी निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिइसकेको छ ।

प्रकाशित : २०७९ भाद्र २२, बुधबार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ