दसैंका लागि असोज १ देखि बसको टिकट बुकिङ खुला


काठमाडौं । यातायात व्यवसायीहरूले दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् ।

यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यातायात व्यवस्था विभागमा बसेको बैठकको निर्णयबारे जानकारी दिएका हुन् ।

यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौसाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुहरूलाई आग्रह गरेको छ ।

दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमाा टिकट काट्ने स्टल राखिने पनि बताइएको छ ।

दसैं तथा तिहार लगायत चाडबाडको समयमा काठमाडौं बाहिर जाने यात्रुहरूको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने पनि सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए ।

प्रकाशित : २०७९ भाद्र २२, बुधबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ