निर्वाचन कार्यतालिका सार्वजनिकः असोज २३ गते उम्मेदवारी दर्ता


काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

बिहीबार आयोगले पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने छ ।

यसैगरी असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको छ । यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् । कार्यक्रम सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानूनमा रहेको छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ