ओली र ठाकुरवीच भेटवार्ताः लोसपासँग एमालेले गर्ला चुनावी तालमेल ?


काठमाडौं । सत्ता गठबन्धनमा ठाउँ पाउन समस्या भएपछि लोसपाले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी सहकार्य गर्ने भएको छ । एमालेले पनि मधेस प्रदेशमा आफ्नो प्रभाव बढाउन लोसपालको सहयोग लिने रणनीति बनाएको छ ।

एमाले–लोसपा गठबन्धनलाई मूर्त बनाउन दुवै पार्टीका अध्यक्ष छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुर गठबन्धन गरेर चुनावमा जान सकारात्मक भएका छन् । तर गठबन्धनको मापदण्डको विषयमा भने प्रवेश गरिसकेका छैनन् । लोसपाले राष्ट्रिय पार्टीहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

ठाकुरले गठबन्धनको विषयमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको लोसपा नेता डा। सुरेन्द्र झाले जानकारी दिए । ‘गठबन्धनसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्षज्यूलाई हामीले दिएका छौँ । उहाँले एमाले अध्यक्ष ओलीसँग कुराकानी गर्नुभएको छ,’ उनले भने । एमालेसँग तालमेलको मोडालिटीबारे पनि स्पष्ट भइनसकेको उनले बताए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई पनि पाँच दलीय गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । त्यहीअनुसार तीन चरण वार्ता भए पनि निश्कर्षमा पुगेको थिएन । गठबन्धनमा सामेल हुन स्पष्ट खाका नआएपछि लोसपाले एमालेसँग सहकार्य गर्न लागेको हो । लोसपासँग मिलेर अघि बढ्न एमाले उापध्यक्ष सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले पनि वार्ता गरेका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी सहकार्यका लागि छलफल भइरहेको जानकारी दिए । ‘हामी छलफलमा छौँ । छलफल सकारात्मक छ,’ उनले भने ।

लोसपा कांग्रेसँग लचक भएको र आफूहरूसँग पनि संवादमा रहेकाले कित्ता क्लियर गरेर आउन सुझाव दिएको एमालेका एक नेताले जानकारी दिए । लोसपासँग केन्द्रीय गठबन्धन नभइ मधेस प्रदेशमा गठबन्धन हुने र अन्य क्षेत्रमा पनि लोसपालाई सघाउनेबारे छलफल भइरहेको छ ।

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ