जनकपुरधाम । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रदेश प्रदेशकी सांसद डा. रिना यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
सप्तरी घर भएकी नेतृ डा. रिना काठमाडौं पुगेर अध्यक्ष ओलीबाट खादा ओढेर एमालेमा प्रवेश गरेकी हुन् । मधेस प्रदेशका पूर्व सांसद तथा एमाले नेता रामचन्द्र मण्डलको पहलमा सांसद डा. रिना एमालेमा प्रवेश गरेको बुझिएको छ ।
महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले डा. रिनालाई समानुपातिक कोटाबाट प्रदेश सांसद बनाएको थियो । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता भयो र जनता समाजवादी पार्टी (जसपा) बन्यो ।
तर एकता धेरै टिक्न सकेन । र महन्थ ठाकुर नेतृत्वमा नेताहरु लोकतान्त्रिक समाजवादी गठन गरे । त्यतिबेला सांसद डा। रिना जसपा नै रोजेकी थिइन् । स्रोतका अनुसार उनलाई उपेन्द्र यादवले राज्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।
राज्यमन्त्री बन्न नपाएपछि पार्टी नेतृत्वबाट रुष्ट बनेकी उनी अन्ततः जसपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । उनी जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।