गहुँका लागि भित्रियो डीएपी मल


पर्सा । कृषि सामग्री कम्पनीको दोस्रो कन्साइन्मेन्टको डीएपी मल भित्रिएको छ । २० हजार मेट्रिक टनमध्ये २५ सय मेटन मल सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो ।

कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको बताए । ग्लोबल टेन्डरबाट ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले जोर्डनबाट उक्त मल खरिद गरी ल्याएको हो ।

‘दोस्रो कन्साइन्मेन्टमा कम्पनीले कुल २० हजार मे. टन डीएपी मल भित्र्याउन लागेको छ । त्यसमध्ये वीरगन्ज प्रादेशिक कार्यालयका लागि ८ हजार र भैरहवा प्रादेशिक कार्यालयका लागि ७ हजार मे।टन गरी १५ हजार मे. टन डीएपी रेलबाटै सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ,’ उनले भने, ‘बाँकी रहेको ५ हजार मे. टन डीएपी विराटनगर प्रादेशिक कार्यालयका लागि कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा ढुवानी गरी ल्याइँदै छ ।’

स्विस सिंगापुरले ग्लोबल टेन्डरबाट ४० हजार मे. टन डीएपी मल आपूर्तिको २ वटा ठेक्का पाएकामा पहिलो कन्साइन्मेन्टमा २० हजार मे. टन ल्याइसकेको छ । त्यसमध्ये १५ हजार मे. टन वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमै आएको थियो ।

५ हजार मे. टन कोलकाताबाट विराटनगर ल्याइएको थियो । त्यतिबेला पनि वीरगन्ज आएको १५ हजार मे. टनमध्ये ८ हजार मे. टन वीरगन्ज, ७ हजार मे. टन भैरहवा प्रादेशिक कार्यालयले पाएका थिए ।

कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले मधेस, वाग्मती र गण्डकी प्रदेशका १६ जिल्लामा मल परिचालन गर्दै आएको छ । हाल किसानबाट डीएपी मलको माग नआएकाले भण्डारण गरिने कुमारले जानकारी दिए ।

प्रकाशित : २०७९ आश्विन ४, मंगलवार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ