वीरगन्जमा मधेसकै पहिलो चिडियाखानाको वनमन्त्री यादवद्वारा शिलान्यास


वीरगन्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका ३२ मा स्थापना हुने चिडियाखाना (प्राणी उद्यान)को शिलान्यास गरेका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी लागतमा चिडियाखाना स्थापना हुने वनमन्त्री यादवले जनाएका छन् । ‘वीरगन्जको रामवनमा स्थापना हुन लागेको यो चिडियाखाना समग्र मधेस प्रदेशको एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा विकास हुने छ,’ वनमन्त्री यादवले भने, ‘साथै यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

मन्त्री बनेपछि यादवले पर्सामा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भदौ २७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

‘चालू आर्थिक वर्षमा चिडियाखाना स्थापनाका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ वनमन्त्रीले भने, ‘यसलाई हामीले नेपाल सरकारको बहुवर्षीय योजनामा राखेका छौँ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार वीरगन्ज ३१ को सोलखपुर र ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ ।

प्रकाशित : २०७९ आश्विन ६, बिहीबार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ