सिरहामा पदमनारायण, राजकिशोर, लीलानाथ र बिरेन्द्र अगाडी, पछि परिन चित्रलेखा !


सिरहा । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रमध्ये जनता समाजवादी पार्टी ९जसपा० २, नेपाली काँग्रेस १ र नेकपा माओवादी केन्द्र १ क्षेत्रमा अगाडी देखिएको छ ।

सिरहा १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पदमनारायण चौधरीले एमाले उम्मेदवार रामशंकर यादवलाई पछि पारेका छन् । चौधरीले ६ हजार १२७ मत प्राप्त गर्दा एमालेका यादवले ५ हजार ७४० मत पाएका छन् । यादवलाई जसपाको साथ छ । यो क्षेत्रमा जनमत पार्टीका युगलकिशोर साह १ हजार २७८ मतका साथ तेस्रो स्थानमा छन् ।

सिरहा २ मा सुरुवाती अग्रता लिएकी सत्ता गठबन्धनको उम्मेदवार नेपाली काँग्रेसकी चित्रलेखा यादव तेस्रो स्थानमा झरेकी छन् । अहिले एमालेसँग गठबन्धन गरेका जसपाका राजकिशोर यादव ४ हजार ४७२ मतका साथ अगाडी छन् ।

दोस्रो नम्वरमा जनमत पार्टीका बिनोद यादव ४ हजार ३२९ मत पाएका हुन् । संगठन कमजोर रहेपनि सिमावर्ती क्षेत्रमा जनमत पार्टीलाई बढी मत आइरहेको देखिएको छ । तेस्रो नम्बरमा रहेकी चित्रलेखा अहिलेसम्म ३ हजार ९७७ पाएकी छन् ।

सिरहा ३ मा जसपाको सहयोग पाएको एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले ५ हजार ४९८ मत पाउँदा सत्ता गठबन्धनतर्फको उम्मेदवार माओवादीका विश्वनाथ साह ५ हजार १०३ मतका साथ पछ्याइरहेका छन् ।

सिरहा ४ मा जसपाका बिरेन्द्र महतो मतान्तर फराकिलो बनाउँदै गएका छन् । उनी ६ हजार २४० मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका धर्मनाथ साह ४ हजार ८८५ मतका साथ संघर्ष गरिरहेका छन् ।

प्रकाशित : २०७९ मंसिर ७, बुधबार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ