रवि लामिछानेको नागरिकता र राहदानी विवादमा, अनुसन्धान गर्दै काठमाडौं प्रहरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रहरीले छानबिन थालेको छ ।

निर्वाचन आयोगबाट गृह मन्त्रालय हुँदै लामिछानेको नागरिकता विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता र राहदानीको विषयको अनुसन्धान गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र पठाएको थियो । त्यसपछि काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

‘जिल्ला प्रशासन कार्यालयबाट छानबिन गर्नु भनेर पत्र आएको छ । त्यसबारे हामी हेर्दै छौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने ।

लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो ।

निर्वाचन आयोगले आफ्नो निकायभन्दा बाहिर गएर अनुसन्धान गर्नुपर्ने विषयमा ७ दिनभन्दा बढी समय लिएर अनुसन्धान गर्न सकिने बताएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्ता घटनामा निर्वाचित भइसकेपछि पनि अदालतमा मुद्दा लग्न सकिने बताएका थिए ।

https://www.youtube.com/watch?v=lRjPeZ6q8wM

चितवन २ बाट उम्मेदवार बनेका लामिछाने सबै भन्दा धेरै मतान्तरमा विजयी भइसकेका छन् । उनी ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरेका थिए ।

लामिछाने जति चर्चामा छन् त्यसमा उनका विवाद पनि उतिकै रहेका छन् । शालिग्राम पुडासैनीको आत्यहत्या प्रकरणदेखि अमेरिकी नागरिक भएर नेपालमा श्रम अनुमति नलिई काम गरेको विषयमा उनी विवादमा तानिएका थिए ।

अहिले फेरि लामिछानेको नेपाली नागरिकता विषय पेचिलो बनेको छ । श्रमजीवि वर्गका ‘मसिहा’ बन्ने रविको विपक्षमा बोल्नु सामाजिक सञ्जालमा रविमाथि आलोचना गर्नु ‘भगवानको अपहेलना’ गर्नु सरह भइसकेको छ । यस्तो अवस्थामा प्रहरी प्रशासनले कसरी अनुसन्धान गर्छ र सम्बन्धी निकायले कस्तो निर्णय गर्न भन्ने विषय चुनौतीपूर्ण नै देखिन्छ ।

प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ