प्रसिद्ध बाराही मन्दिर पुनःनिर्माण गरिँदै


रासस, लेखनाथ । विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकासाइड । त्यसैमा थप सुन्दरता र धार्मिक आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिर ।

स्वदेशी तथा विदेशी भक्तजनको मन्दिरमा दर्शन र पूजाआजा गर्न दैनिक रुपमा भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ ।

https://www.youtube.com/watch?v=H18PH8YcDNA&t=3s

फेवातालको बीचभाग अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्किँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणका लागि काम अगाडि बढाइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।

भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा भत्काएर हटाइसकिएको छ । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए ।

पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिर पुन: निर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख लाग्ने अध्यक्ष कुँवरले जानकारी दिए ।

प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरुपमै मन्दिर पुनःनिर्माण गरिने अध्यक्ष कुँवरले बताए । मन्दिर पुनःनिर्माण गर्न पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच यसै हप्ताभित्र सम्झौता गरिने जानकारी अध्यक्ष कुँवरले दिए ।

मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर पाँच महिनाभित्र नै पुनः निर्माण गरिसक्ने बताइएको छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाइ मन्दिर स्थापना गर्नुभएको बताइन्छ । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ ।

https://www.youtube.com/watch?v=CF2DeLoo-l8

प्रकाशित : २०७९ मंसिर २५, आईतवार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ