महोत्तरीमा ६ करोडको लागतमा थारु संग्रहालय बन्ने


महोत्तरी । आफ्नो रितिथिति र परम्परा झल्कने संग्रहालय आफ्नै क्षेत्रमा बन्ने कुराले महोत्तरीका आदिवासी थारु समुदाय अहिले दङ्ग छन् ।

आइतबार जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघरोल पुगेका संघीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले सो ठाउँमा थारु संग्रहालय बनाउने घोषणा गरेपछि उक्त समुदायमा खुसी छाएको हो ।

https://www.youtube.com/watch?v=_b6SZDD0iJI&t=25s

‘अब हाम्रो आफ्नै ठाउँमा थारु जातिका भेषभूषा, रितिथिति, खाद्य परिकार र रहनसहनसमेत झल्कने संग्रहालय बन्ने घोषणा भएको छ’, स्थानीय नेकपा ९एमाले० भङ्गाहा नगर कमिटी अध्यक्ष चन्द्रनारायण सिंह थारुले भने, ‘संग्रहालय बनेपछि थारु संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्नेछ ।’

उक्त नगरपालिका थारु बाहुल्य भएको क्षेत्र मानिन्छ । जम्मा नौ वडा रहेको नगरपालिकाका सबै वडामा थारुको बसोबास छ । सबै वडामा थारुको बसोबास भए पनि भङ्गाहा, धर्मपुर, थारुटोल बनरा, बखरी, मदनपट्टी, पर्सा, करुणा, मझौलिया, मेघरोल, गोरहन्ना, रामनगर र भीमगढ थारु बसोबासका मुख्य बस्ती मानिन्छन् ।

साविकका भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, मेघनाथ गोरहन्ना र हरिहरपुर हरिनमरी गाविस क्षेत्र समेटेर भङ्गाहा नगरपालिका घोषणा गरिएको हो । जिल्लामा भङ्गाहाका अतिरिक्त गौशाला नगरपालिका क्षेत्रका रजखोर बिर्ता, निगौल र बिसरपुरसहित बस्तीमा थारु जातिको बसोबास रहँदै आएको छ ।

यी ठाउँका आदिवासी भएर पनि स्थानीय जाति र समुदायको उत्थान तथा पहिचानका लागि खासै काम हुन नसकेका बेला हालै ९महोत्तरी(२० कै प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारीसहित मेघरोल पुगेका मन्त्री चौधरीले संग्रहालय निर्माणको काम तत्काल थालिने बताएपछि आफूहरु हौसिएको भङ्गाहा(६ मदनपट्टी निवासी राजनारायण राय थारुले बताए ।

संग्रहालय निर्माणका लागि प्रथम चरणमा गुरुयोजनाको काम थालिने र गुरुयोजना सम्पन्न भए पछि संग्रहालय निर्माणको काम थालिने जनाइएको छ ।

आठ बिघा क्षेत्रफलमा पोखरी, मनोरम बाटिकासहित निर्माण हुने संग्रहालयमा थारु संस्कृति र परम्पराका आधारभूत सबै कुरा राखिनेछन् । यसले थारु समुदायको मात्र नभई जिल्लाकै शाख वृद्धिमा योगदान दिने नगरपालिकाकी उपप्रमुख शान्तिसिंह थारुको भनाइ थियो ।

आमरुपमा सरल व्यवहारका अत्यन्त मिलनसार मानिने थारु जाति इमान्दार र मेहनेती हुन्छन् । आफ्नै समुन्नत कला, संस्कृति र परम्पराको संग्रहालय बन्ने कुराले थारु जातिको इतिहास जगेर्ना हुने नगरप्रमुख सञ्जिवकुमार साहले बताए । ‘संग्रहालय हामी सबैका लागि गौरवको कुरा बन्नेछ’ उनले भने ।

यसअघि मदनपट्टी वेलफेयर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरी थारुले संग्रहालय निर्माणका लागि मन्त्री चौधरीलाई स्मरणपत्र बुझाएको थियो ।

संग्रहालयमा थारु संस्कृति झल्किने सामग्रीको प्रदर्शनीसँगै थारु खानाका परिकार उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल पनि निर्माण गरिने बताइएको छ ।

विभिन्न पर्व र उत्सव पनि मनाउने योजना रहेको उक्त संग्रहालय निर्माण भएपछि सो क्षेत्र नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्यसमेत बन्ने महोत्तरीवासीको अपेक्षा छ । संग्रहालय निर्माणका लागि अनुमानित रु ६ करोड खर्च हुने बताइएको छ ।

प्रकाशित : २०७९ पुष ४, सोमबार १७:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ